स्थानीय सरकारको बेथितिका विरुद्ध युवा एकजुट हुँदै

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी २२ असोज /
भजनी नगरपालिकाले ल्याएको चालु आर्थिक वर्षको बजेट तथा बेथितिका विरुद्धमा युवाहरू एकजुट भएर स्थानीय सरकारको विरोध सुरु गरेका छन् ।
भजनीका युवाहरूले स्थानीय सरकारको बजेट जनमुखी नभएको भन्दै स्थानीय सरकारको कार्यक्रमको विरोध गर्दै सरकारका हरेक बेथितिका विरुद्ध एकजुट भएर सामना गर्न तयार भएका हुन । सचेत युवाहरूले मंगलबार आवश्यक छलफल नै गरेर नगरपालिकामा हुने भ्रष्टाचार र अनियमितताका विरुद्ध एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नगरपालिकामा बढ्दै गएको भ्रष्टाचार र बेथितिका विरुद्ध सबै वडाबाट समेटिने गरी कमिटी नै समेत गठन भएको छ । युवाहरुको भेलाबाट अमृत कुमालको संयोजकत्वमा २९ सदस्यीय कमिटी गठन गरिएको हो । उक्त कमिटीले वडा कार्यालय देखि नगरपालिकासम्म हुने आर्थिक अनियमितता अनि भ्रष्टाचारका विरुद्धमा खरो रुपमा काम गर्ने बताइएको छ ।
देशमा भ्रष्टाचार र बेथितिका विरुद्धमा जेन जि आन्दोलनको रापताप बढेका बेला स्थानीय स्तरमा स्थानीय सरकारका कामहरुको निगरानी गर्न युवाले भुमिका खेल्नुपर्ने बताउँदै गलत कार्यलाई निरुत्साहित गर्दै सकारात्मक कामहरूलाई अगाडि बढाइनुपर्ने बताएका छन् । “हामी सचेत भएरै स्थानीय सरकारका गलत कार्यहरूको विरुद्धमा एकताबद्ध भएका छौँ ।” उनले भने, “हामी स्थानीय सरकारले गर्ने कामको वडा देखि पालिकासम्म्को निगरानी गर्छौं । गलत भएको भेटिए त्यसको विरुद्धमा सम्बन्धित निकायमा हाम्रो कमिटी पुग्ने छ ।”
उनले स्थानीय सरकारसँग युवाहरूका साझा माग मुद्दा लिएर जाने बताउँदै सबै सचेत युवाहरूलाई समेटेर आगामी योजना तयार पारिने उनले बताएका छन् । “हामी सबै सचेत युवाहरूलाई आव्हान पनि गर्न चाहान्छौं, हाम्रो क्षेत्रको विषयमा चिन्तित हुनुपर्छ ।” उनले भने, “यसमा म एक्लैले केही काम गर्न सक्ने होइन सबै सचेत युवाहरूको साथ सहयोग र समर्थन चाहिन्छ ।”
छलफलका क्रममा सुरेन्द्र जैशीले नगरपालिकाले विनियोजन गर्ने बजेट आवश्यकता भन्दा बाहिर बढी खर्च गर्ने गरेको बताउँदै चालू आर्थिक वर्षको बजेट हेर्दा कर्मचारी र जनप्रतिनिधि लक्षित गरेर विनियोजन भएको बताएका छन् । उनले स्थानीय सरकारलाई समयमा खबरदारी गर्दै अनावश्यक शिर्षकमा विनियोजन भएको बजेटलाई आवश्यकताको आधारमा विनियोजन गर्न लगाउन पनि आवश्यक रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *