शेयेर गर्नुहोस
टीकापुर १९ चैत /
सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा यहीँ २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि टीकापुर बहुमुखी क्याम्पसमा पाँच बिद्यार्थी संगठन एक ठाउँमा उभिएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दर्ताको कार्यक्रममा नेपाल बिद्यार्थी संघ सहित पाँच बिद्यार्थी संगठनको संयुक्त प्यानल सहित एकजना स्वतन्त्रले स्ववियु सभापतिको उम्मेदवारी दिएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, नागरिक बिद्यार्थी समाज,अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)को संयुक्त प्यानलबाट सभापतिमा गोविन्द प्रसाद भण्डारीले उम्मेदवारी दिएका छन् ।
उता नेविसंघबाट भने किरण साउँदले उम्मेदवारी दिँदा स्वतन्त्र सभापतिको उम्मेदवारका रुपमा देवाशिष जंग थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । सचीवमा संयुक्त प्यानलबाट नागरिक विद्यार्थी समाजबाट आशिष चौधरीको उम्मेदवारी परेको छ । त्यसैगरी नेपाल विद्यार्थी संघबाट छविलाल न्यौपानेले उम्मेदवारी दर्ता गराउँदा लोकेश देवकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
संयुक्त प्यानलमा अखिल क्रान्तिकारीले कोषाध्यक्षमा उम्मेदवारी दिएको छ । क्रान्तिकारीका सुदिप नेपालको उम्मेदवारी परेको छ । त्यसैगरी नेपाल विद्यार्थी संघबाट डिम्पल चौधरीलाई उम्मेदवार बनाइएको छ ।
सदस्यमा नेपाल विद्यार्थी संघबाट समिक्षा शाही, कुशल जैशी, शिशिर तिरुवा, आस्मा चौधरी, इसान लम्साल, मनोज धामी, अनुषा कुमारी चौधरी र शिशिर रावलले उम्मेदवारी दिएका छन् ।
उता संयुक्त प्यानलबाट अनेरास्ववियुबाट अनमोल खड्का, सपना रावल र जुना कुमारी चौधरी डगौरा, अखिल क्रान्तिकारीबाट ज्योति सुनार र रिमा कुमारी चौधरी, नागरिक बिद्यार्थी समाजबाट अञ्जिना चौधरी र अनु चौधरी र समाजवादीबाट पल्लवी विकले उम्मेदवारी दिएका छन् ।










