हाकिम सरुवाको चलखेल सुरु : के के भयो र हुँदैछ ?

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २२ चैत /
टीकापुर नगरपालिकामा पुनः प्रमुख प्रशासकीय अधिकृत सरुवाको चलखेल सुरु भएको छ ।
पछिल्लो समय नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ६ महिना अगाडि मात्रै टीकापुर नगरपालिका आएका सुमन धिताललाई सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने चलखेल सुरु भएको हो । कर्मचारी र जनप्रतिनिधि बीचको आन्तरिक कलहका कारण नगरपालिकामा कार्यालय प्रमुख नबस्ने गरेको टीकाटिप्पणी यसभन्दा पहिलेदेखि नै हुँदै आएको छ । त्यसैको परिणाम हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत धिताल पनि टीकापुर नबस्ने मनस्थितिमा पुगेका छन् ।
आज ३ बजे बस्ने नगरपालिकाको ६४ औं कार्यपालिकाको बैठकले तय गरेका एजेण्डामा धिताललाई सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने समावेश भएको छ । तय भएका २३ वटा एजेण्डा मध्ये २३ नम्बर बुदामा प्रमुख प्रशासकीय अधिकृतलाई सामान्य प्रशासन मन्त्रालय फिर्ता पठाउने सम्बन्धमा छलफल हुने विषय तय भएको उल्लेख छ ।
कार्यपालिकाको बैठकका एजेण्डा तयार पार्ने नगरपालिकाका प्रशासन शाखा प्रमुख देवी प्रसाद आचार्यले कार्यपालिकाका एजेण्डा कार्यालय प्रमुखले उपलब्ध गराए अनुसार तयार पार्ने गरिएको उल्लेख गरेका छन् । “कसले यो प्रस्ताव ल्यायो मलाई थाहा हुँदैन ।” उनले भने, “मेरो हाकिमले दिएको निर्देशन अनुसार मैले काम गर्ने हो ।” कार्यपालिकाको बैठकमा छलफल हुने विषयमा प्रमुख प्रशासकीय अधिकृत धिताललाई फिर्ता पठाउने विषयमा आफुलाई जानकारी नभएको कार्यबाहक नगर प्रमुख रामबहादुर नगार्जीले जानकारी दिएका छन् ।
“हाकिम फिर्ताको विषय कताबाट आयो थाहा छैन । यस विषयमा कार्यपालिका बैठकमा कुनै छलफल हुँदैन र निर्णय पनि हुँदैन ।” उनले भने, “बल्ल राम्रो हाकिम पाएका छौँ । उहाँले अहिले नगरपालिकालाई सहि ट्र्याकमा ल्याइरहनु भएको छ ।” कार्यवाहक नगर प्रमुख नगार्जीले कार्यालय प्रमुखको विषयमा कुनै समस्या नभएको उल्लेख गरे ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको कार्यपालिका बैठकमा पेश हुने प्रस्ताव तयार गर्ने जिम्मेवारी मुख्य रूपमा प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । प्रमुख प्रशासकीय अधिकृतले विभिन्न शाखाबाट आएका विषयहरू संकलन गर्ने र आवश्यक कागजात तयार गर्ने गरिन्छ । बैठकको एजेण्डा/प्रस्ताव नगरपालिकाका नगर प्रमुखको निर्देशनमा गरिन्छ ।
किन तय भयो फिर्ताको एजेण्डा
प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले मन्त्रालय फिर्ताको एजेण्डा आफै थप गरेको बताएका छन् । मंसिर १ गते नगरपालिकामा हाजिर भएका धिताल काम गर्ने वातावरण नभएपछि फिर्ता जान खोजेको बताउँछन् । “मैले काम गर्दा नतिजा आउने गरी काम गर्नुपर्छ भन्ने हुन्छ ।” उनले भने, “काम गर्ने वातावरण बनेन भने मार्ग प्रशस्त गरिदिनु मेरो दायित्व हो ।” धितालले कानुन भन्दा बाहिर गएर आफुले कुनै काम नगर्ने उल्लेख गर्दै कानुन भन्दा माथी गएर कसैका व्यक्तिगत इच्छाआकांक्षा पूरा गर्न नसक्ने बताए । “कानुनले दिएको क्षेत्रभित्र रहेर नागरिकहरूले महसुस हुनेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।” धिताल भन्छन्, “व्यक्तिगत आकांक्षालाई पूरा गर्न मेरो नैतिकताले दिँदैन । त्यसो गर्न नसक्ने भएपछि फिर्ता जानुपर्छ भन्ने सोचेर एजेण्डा तय गरेको हुँ ।”
चार वर्ष नपुग्दै ९ जना हाकिम
नगरपालिकामा २०७९ को निर्वाचन पछि मात्रै ९ जना प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकामा काम गरेका छन् । चार वर्ष नपुग्दै कार्यालय प्रमुख किन नगरपालिकामा बस्न सक्दैनन् भन्ने प्रश्न आम नागरिकहरुमा उब्जिन थालेको छ । २०७९ सालपछि मंगल बहादुर शाही भन्दा अरु कुनै पनि कार्यालय प्रमुख एक वर्ष नगरपालिकामा बस्न सकेका छैनन् । जनप्रतिनिधि र अन्य केही कर्मचारीहरुको चेपुवामा पर्ने गरेका कार्यालय प्रमुख नियमित नहुँदा नगरपालिकाको प्रशासनिक कामकाज प्रभावित बन्दै गएको देखिन्छ । अहिले पनि धितालको सरुवा भए चालू आर्थिक वर्षको अन्तिम समय हुँदै लाग्दा थप समस्या हुनसक्ने जोखिम छ ।
कर्मचारीबाट छानवीन समितीको माग
नगरपालिकाका लेखा अधिकृत देविकृष्ण जैशीले आफू माथी केही वडा अध्यक्ष सहितलाई लिएर नगरपालिकाको खर्चमा कैलालीको राजकाँडा गएको भन्ने आरोपको यथार्थ छानबिन हुनुपर्ने माग गरेका छन् । २०८२ चैत १९ गते बिहान ८ बजेको कार्यपालिका बैठकमा केही वडा अध्यक्षलाई कार्यपालिका बैठकमा नबसी राजकाँडा लिएको भन्ने आरोप कार्यपालिका सदस्यबाट भएको आरोप लागेको उल्लेख गर्दै त्यसको छानबिन हुनुपर्ने बताएका छन् । जैशीले १९ गते नै प्रमुख प्रशासकीय अधिकृतलाई आफुमाथी हुँदै नभएको आरोप लागेको भन्दै त्यसको वास्तविक छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै आवश्यक छानबिन प्रक्रिया अगाडि नबढे नगरपालिकाको कामकाज ठप्प पार्ने चेतावनी दिए । “अनावश्यक आरोप लगाएर मलाई तनाव सिर्जना गर्ने काम भएको छ । मैले कसैलाई नगरपालिकाको स्रोतको दुरुपयोग गरेर कतै घुमाउन लगेको छैन ।” उनले भने, “यदि छ भने छानबिन होस् म कारबाही भोग्न तयार छु । होइन भने अनावश्यक आरोप लगाउनेलाई कारबाही हुनुपर्छ ।”
दलहरुमा जुट्यो सहमति
कार्यबाहक नगर प्रमुख नगार्जीको अस्तित्व स्विकार नगर्ने भन्दै यसभन्दा पहिलेको कार्यपालिका बैठक अस्विकार गरेका आफ्ना दलका कार्यपालिका सदस्यलाई कार्यपालिका बैठक सहभागी हुन निर्देशन दिने गरी सहमति जुटेको छ । कार्यवाहक नगर प्रमुख नगार्जीले आह्वान गरेको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीको सहभागितामा भएको छलफलले आज बस्ने कार्यपालिका बैठकमा आफ्ना दलबाट प्रतिनिधित्व गर्ने सबै सदस्यलाई सहभागी हुने निर्देशन दिने सहमति भएको छ ।
पार्टीको निर्देशनलाई नमानेर कार्यपालिका बैठक सहभागी नहुने सदस्यले कुनै समस्या नल्याउने र बहुमत सदस्यले पारित गरेका निर्णय राजनीतिक दललाई मान्य हुने सहमति भएको छ ।

कार्यालय प्रमुखको नाम र समयावधि लेखिनै छोड्यो
वडा अध्यक्ष सहितलाई किएर राजकाँडा गएको आरोप लागेपछि लेखा अधिकृत देविकृष्ण जैशीले छानवीनको माग गर्दै दिएको ध्यानाकर्षण पत्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *