१० महिनामा झण्डै ८ करोड राजश्व संकलन

शेयेर गर्नुहोस


टीकापुर ०७ जेठ /
टीकापुर नगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा झण्डै ८ करोड राजश्व संकलन गरेको छ ।
चालू आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ५० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले वैशाख मसान्तसम्म ७ करोड ८१ लाख ३१ हजार ८ सय २२ रुपैयाँ राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा नगरपालिकाले वैशाख मसान्तसम्म ६ करोड ३६ लाख २५ हजार ८ सय ५३ रुपैयाँ राजश्व संकलन गरेको नगरपालिकाका राजश्व शाखा प्रमुख नन्द केसीले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले ९ करोड ८ लाख ६९ हजार ९ सय ६ रुपैयाँँ राजश्व संकलन गरेको थियो । यसवर्ष पनि लक्ष्य अनुसारको राजश्व संकलन हुने शाखा प्रमुख केसीको भनाइ छ । “लक्ष्य हामीले हासिल गर्छौं । गतवर्षको भन्दा १० प्रतिशत बढी राजश्व संकलन गर्नुपर्ने व्यवस्था अनुसार भने सकिँदैन कि भन्ने हो ।” उनले भने, “गतवर्षको राजश्व संकलनमा १० प्रतिशत राजश्व वृद्धि गर्नुपर्ने हुन्छ ।”
चालु आर्थिक वर्षमा नगरपालिकाले प्रतिशतका आधारमा नाता प्रमाणित दस्तुर बापत सबैभन्दा बढी राजश्व संकलन गरेको छ । जसमा ७ लाख ९१ हजार पाँच सय राजश्व संकलन भएको छ । सम्पत्ति करबाट तीन करोड ८६ लाख ३१ हजार दुई सय ७ रुपैयाँ राजश्व संकलन गरेको नगरपालिकाले पर्यटन शुल्कबाट एक करोड १४ लाख ९४ हजार ९ सय ९० रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकांश राजश्वका शीर्षकहरुमा राजश्व वृद्धि भएको देखिन्छ ।
नगरपालिकाको सरकारी सम्पत्ति बहाल कर संकलनको अवस्था भने निकै चिन्ताजनक देखिएको छ । जसमा हालसम्म लक्ष्यको १८ दशमलव ९१ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । जसमा २० लाख ८० हजार दुई सय ४३ रुपैयाँ संकलन गरेको नगरपालिकाले गतवर्ष ५९ लाख ४० हजार तीन सय ७१ रुपैयाँ राजश्व संकलन गरेको थियो । नगरपालिकाको परिसर बाहिर रहेका सपिङ्ग कम्प्लेक्सका सटरको भाडा तथा नगरपालिका भित्र अन्य स्थानमा भएका सम्पत्तिबाट उठ्नु पर्ने भाडा वापतको रकम उठ्न सकेको छैन । कतिपय सरकारी सम्पत्ति ठेक्कामा नजाँदा पनि नगरपालिकाको आन्तरिक आयमा असर परेको छ ।
नगरपालिकाको सपिङ्ग कम्प्लेक्सको मात्रै दुई करोड ९० लाख ९३ हजार पाँच सय ३३ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । जुन बक्यौता फागुन मसान्तसम्मको मात्रै हो । अधिकांश बक्यौता रकम सपिङ्ग कम्प्लेक्सको भवनमा बसेर व्यवसाय गरेका व्यापारीका नाममा छन् । जुन बक्यौतालाई महालेखापरिक्षकको कार्यालयले बर्सेनि असुल उपर गर्न निर्देशन गरिरहेको हुन्छ । “सपिङ्ग कम्प्लेक्सको बक्यौताको समस्या निकै जटिल छ । जटिल भन्दा जे भए पनि त्यो असुल उपर गर्नै पर्ने हो ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भने, “आउँदो साउन महिनाभित्र सबै प्रक्रिया पुर्याएर बक्यौता असुल गर्ने गरी हामी काम गर्छौं । त्यहाँसम्म समस्या समाधान हुन्छ भन्ने आशा गरौं ।” फेरि सपिङ्ग कम्प्लेक्सको बक्यौताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *