शेयेर गर्नुहोस
भजनी २० वैशाख /
बाढी र डुवानको उच्च जोखिममा रहेको कैलालीको भजनी नगरपालिका वडा नं. ३ को पकरियापुरमा सुरक्षित उच्च आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको जनश्रमदानमा सुरक्षीत उच्च आवास निर्माण हुन लागेको हो ।
वर्षौदेखि बाढी र डुवानको पिडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि उच्च घर निर्माण गर्न लागिएको नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बताउनुभएको छ । उहाँले नगरपालिकाको अधिकांश क्षेत्र बर्सेनि बाढी र डुवानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको वस्तीलाई सुरक्षीत बनाउन बर्सेनि उच्च घर निर्माणको कार्यक्रमलाई निरन्तरता दिँदै लगिएको बताउनुभयो ।
ऐलानी जग्गामा बसोबास गर्दै आएका सो ठाउँका २५ परिवारलाई नगरपालिकाले आफ्नो मातहतमा आवास निर्माण गरेर आवास घर हस्तान्तरण गर्न लागेको नगर प्रमुख चौधरी बताउनुहुँन्छ । “भजनी बर्सेनि बाढी र डुवानको पिडामा हुन्छ भन्ने सबैलाई थाहा छ । यहाँ बढी जोखिम भएका र विपन्न समुदायसँग लालपुर्जा भएको जग्गा पनि छैन ।” नगर प्रमुख चौधरी भन्नुहुन्छ, “ऐलानी जग्गामा सरकारको मापदण्डअनुसार घर निर्माण गर्न पाइदैन । त्यसैले आफ्नै मातहतमा लिएर विपन्न स्थानीयको घर निर्माण गरिरहेका छौं ।” नगरपालिकाले गत वर्ष वडा नं. ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो । बर्सेनि अन्य संघसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणको कामलाई निरन्तरता दिए नगर प्रमुख चौधरीले बताउनुभयो ।
स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुवानबाट छुटकारा पाइने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले वर्षौदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको बताउनुभएको छ । “वर्षौंदेखिको हाम्रो पीडा सरकारले सुनेको छ । हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदै छ । महिनौंसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैंका लागि अन्त्य हुनेमा विश्वस्त छौँ ।” छेदु भन्नुहुन्छ, “अब भोगचलन गर्दै आएको ऐलानी जग्गाको लालपुर्जा पाउन सकेको भए सरकारसँग कुनै कुराको अपेक्षा रहने थिएन ।” छेदु जस्तै कान्द्रा नदीका कारण बर्सेनि पीडा खेप्दै आएका नागरिकहरु यतिबेला स्वस्फूर्तरुपमा आफ्नो घर निर्माणका लागि व्यस्त रहेका छन् ।
स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित बन्नुभएको छ । घरको सबै जायजेथा बोकेर महिनौं सडकमा त्रीपाल मुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बन्नुभएको हो । ” बाढीका कारण अहिलेसम्म कति पीडा खेप्नुपर्यो त्यो बिर्सनु ठिक छ ।” उहाँ भन्नुहुन्छ, “अबका दिनमा त्यो पीडाबाट छुटकारा पाइने आशा जागेको छ । कम्तिमा परिवार र खाद्यान्नलाई त बचाउन सकिने भयो ।”
पकरियापुरमा एउटा नमुना घर सहित २५ घर निर्माण भैरहेका छन् । ७० लाख ४९ हजार ९ सय २२ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त घरका लागि नगरपालिकाको २४ लाख रुपैयाँ लगानी रहेको छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले २१ लाख २९ हजार ६ सय रुपैयाँ लगानी गर्दा २५ लाख ३० हजार तीन सय २२ रुपैयाँ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भैरहेको छ ।
राष्ट्रिय दलित नेटवर्कका सामाजिक परिचालन लालबहादुर डगौरा थारुले संस्था मार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताउनुभएको छ । “प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकता अनुसारको आवास निर्माणको काम गर्दै आएका छौं ।” उहाँ भन्नुहुन्छ, “खासगरी सामाजिक तथा आर्थिक रुपमा कम्जोर नागरिकहरुलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ ।” परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसएको थारुले बताउनुभयो ।