शेयेर गर्नुहोस
टीकापुर ३ साउन /
कमैया मुक्तिको २५ पूरा हुँदा अनि आफुहरुको व्यवस्थापन राज्यले गर्न नसकेको भन्दै मुक्तकमैयाहरुले गुनासो गरेका छन् ।
कमैया मुक्ति घोषणासँगै राज्यको दायित्व भित्र पर्ने उचित व्यवस्थापनमा २५ वर्षसम्म पनि राज्य उदासीन देखिएको गुनासो गरेका हुन । शुक्रबार टीकापुरमा शक्तिनगर, चमेलीपुर, शिवनगर र विजयनगर शिविरको संयुक्त आयोजनामा भएको कार्यक्रममा पुर्व बड्घर रामफल थारुले २५ वर्षसम्म राज्य आफैले दिन्छु भनेर गरेको सहमति कार्यान्वयन गर्न नसकेको बताएका छन् । उनले घोषणा गरेर मात्रै मुक्त कमैयाको समस्या समाधान नभएको बताउँदै गाँस,बास र कपासको ग्यारेन्टी हुनुपर्ने बताएका छन् । “आजसम्म हामीसँग बस्ने घर छैन । अन्य सेवासुविधाको कुरा त धेरै परको कुरा हो ।” उनले भने, “हामी आशा गर्छौं अब २६ औं दिवस मनाउँदा सबैको व्यवस्थापन भएको देख्न पाइयोस् ।”
उसो त टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले कमैया कमलहरीको उचित व्यवस्थापन अहिले पनि चुनौतीको रुपमा रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख थारुले टीकापुरमा मात्रै झण्डै साढे सात सय कमैया कमलहरी रहेको बताउँदै उनीहरूलाई परिचयपत्रका लागि नगरपालिकाले बनाउन लागेको कार्यविधि अन्तिममा रहेको बताए । “आज पनि देशभर २३ हजार बढी कमैया कमलहरी रहेको तथ्यांक छ । तीनको व्यवस्थापन हुनुपर्छ ।” उनले भने, “सुकुम्बासी, मुक्त कमैया कमलहरीको व्यवस्थापन हुन्छ । त्यसमा ढुक्क हुँद हुन्छ । समस्या भनेको अव्यवस्थित बसोबासीको मात्रै हो ।”
त्यसैगरी टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले निहित स्वार्थका लागि झुटो राजनीति नगरी सबैको एकता र समन्वयले मुक्त कमैया लगायतका समस्यालाई समाधान गर्न सकिने बताएका छन् । वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले हाम्रो क्षेत्रले भुमी व्यवस्था मन्त्री पाउँदा पनि जग्गाको समस्यामा वर्षौदेखि रहेका नागरिकहरूको व्यवस्थापन हुन नसक्नु दु:खद भएको बताउँदै आगामी दिनमा त्यसको मुल्यांकन गर्न नागरिकहरूलाई आग्रह गरेका छन् ।
वडा नं. ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले सुकुम्बासी तथा मुक्त कमैयालाई झुठो आश्वासन बाडेर आफ्नो निहित स्वार्थ पूरा गर्ने काम मात्रै भैरहेको बताउँदै अहिले पनि तराई क्षेत्रमा सबैभन्दा विभेदमा थारु समुदाय पर्दै आएको बताएका छन् । त्यसैगरी नेपाली काँग्रेसबाट झनक राज तिमिल्सिनाले निहित आश्वासनमा बिकेकै कारण मुक्त कमैया सुकुम्बासीहरुको समस्या समाधान हुन नसकेको बताएका छन् । नेपका एमालेका टीकापुर नगर अध्यक्ष लक्ष्मण थापाले मुक्त कमैयाको उचित व्यवस्थापनमा राज्यले ढिलाइ गरेको बताए ।
नेकपा माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष धनसिंह साउँदले कमैया मुक्तिको घोषणा गर्नु मात्रै ठूलो कुरा नहुने बताउँदै उनीहरूको उचित व्यवस्थापन आजको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश ख का सभापति डम्बर बहादुर थापाले जनताको पक्षमा उभिएर काम गर्न सक्ने ल्याकत सरकारसँग नभएको आरोप लगाए । नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगर अध्यक्ष जितबहादुर चौधरीले वर्तमान स्थितिमा तिनै तहको सरकारले एकआपसमा समन्वय र सहकार्य गरेर मुक्त कमैया, सुकुम्बासी, कमलहरीका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
सोही अवसरमा कमैया मुक्तिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने हेमा चौधरी, बाबुराम चौधरी, कालुराम चौधरी, सिर्जना चौधरी, रामचन्द्र चौधरी, हरी चौधरी र बल्लु चौधरीलाई सम्मान समेत गरिएको थियो । पञ्चराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कलबिर चौधरीले गरेका थिए भने सञ्चालन बन्धु प्रसाद चौधरीले गरेका थिए ।










