शेयेर गर्नुहोस
टीकापुर १३ वैशाख /
मानव एकता दिवसको अवसर सन्त निरंकारी मण्डल टीकापुरद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
निरंकारी मण्डलले मानव एकता दिवसको अवसरमा बर्सेनि रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा संघीय सांसद कोमल ज्ञवालीले रक्तदान जीवनको सबैभन्दा महत्त्वपूर्ण दान मध्ये एक भएको बताएकी छन् । उनले एक जनाको रक्तदानले अर्को जनाको ज्यान बचाउन निकै उपयोगी हुने उल्लेख गर्दै यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताइन् ।
रगतदान गर्दा त्यसले कसैलाई कुनै हानी नहुने बताउँदै सांसद ज्ञवालीले रगतको स्रोत नै मानिस भएकोले सबैले रक्तदान गर्नुपर्ने बताएकी छन् । सन्त निरंकारी मिसनले मानवीय सहायताको क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको बताउँदै रक्तदानका क्षेत्रमा पनि ठूलो भुमिका खेल्दै आएको ज्ञवालीले बताएकी छन् ।
कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख रामबहादुर नगार्जीले निरंकारी मिसनले मानवलाई सर्वश्रेष्ठ प्राणी हो भन्ने सिकाएको बताएका छन् । उनले एक मानिसले अर्को मानिसको अस्तित्व स्विकार गर्न सक्नु नै मानवीयता भएको बताउँदै त्यसको वकालत निरंकारी मिसनले गर्दै आएको बताएका छन् । कार्यबाहक नगर प्रमुख नगार्जीले मान्छे कर्मले ठुलो हुने कुरा मिसनले सिकाउने गरेको बताए ।
निरंकारी मिसन नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर रावलले मानव एकता दिवसको अवसरमा देशैभर रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका छन् । उनले कैलाली जिल्लामा नात्रै ९ स्थानमा रक्तदान भएको बताउँदै मानवीय सेवाम निरंकारी मिसन सधैं समाजसँग हातेमालो गरेर अगाडि बढिरहेको बताएका छन् । रक्तदान कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विक, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष रामबहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी टीकापुर नगर सभापति रविन्द्र विष्ट लगायतको सहभागिता रहेको थियो । निरंकारी मण्डल टीकापुरका अध्यक्ष महादेव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजन रेग्मीले गरेका थिए ।










