कान्द्रा पुल : ठेकेदारले नबनाए नगरपालिकाले बनाउने

शेयेर गर्नुहोस


टीकापुर २८ /
कैलालीको भजनीका स्थानीयका लागि कान्द्रा नदी सधैं दुश्मन जस्तै बन्यो । सयौंको ज्यान लियो । हजारौंलाई विस्थापित बनायो भने हजारौं बिघा खेतीयोग्य जमिन नष्ट गर्यो । अझै पनि कान्द्राको सास्तीबाट स्थानीयले छुटकारा पाउन सकेका छैनन् । कान्द्रा नदीमा २०६८ सालदेखि पक्की पुल बनेपछि दुखका दिनहरू बिस्तारै जाने आशामा बसेका नागरिकका लागि एक दशक बित्दा पनि त्यो आशाले सार्थकता पाउन सकेन ।
हुलाकी राजमार्ग अन्तर्गत निर्माण हुनलागेको पुल निर्माण सम्पन्न भए भजनीलाई मात्रै होइन हुलाकी राजमार्गबाट यात्रा गर्नेहरुलाई समेत सहज हुनेथियो ।”पुलको शिलान्यास हुँदा भजनीबासीको खुशीको सिमा थिएन । सबैका आँखामा खुशीको आँसु थियो । आज त्यहीँ आँसु दुख परिणत भएर बसेको छ ।” भजनी नगरपालिका वडा नं. ३ का सुदर्शन चौधरीले भन्नुभयो, “हिउँदमा सधै आशा लाग्छ यो वर्षातमा पुल चढ्न पाइने भयो भनेर, तर बर्खा लाग्छ हाम्रो बाध्यताको रुप फेरिदैन ।” हिउँदमा निर्माण कम्पनीले पुल निर्माणको लागि सधै निर्माण सामाग्री पुलको निर्माणस्थलमा पुर्याउने गरेको बताउँदै सुदर्शनले जेठ लागेसँगै सबै सामान बेचेर ठेकेदार सम्पर्क बिहिन बन्ने गरेको बताउनुभएको छ ।
पुल निर्माणको कार्य थालनी भएपछि मात्रै देशमा तीन निर्वाचन भैसकेका छन् । ती निर्वाचनमा कान्द्राको पुल सम्पन्न गर्ने एजेन्डा सबै राजनीतिक दलबाट चुनाव लड्ने उम्मेदवारले प्राथमिकतामा राख्ने गरेका छन् । एजेन्डालाई प्राथमिकतामा राखेका उम्मेदवार चुनाव जितेसँगै बिर्सने गरेको भजनी नगरपालिका वडा नं. १ का कैलाश चौधरी बताउनुहुँन्छ । ” पुल सधै एजेन्डा बन्छ तर सम्पन्न कहिल्यै हुँदैन ।” कैलाशले भन्नुभयो, “यसपटक भने पुस महिनाभित्र पुल सम्पन्न गर्ने आश्वासन निर्माण कम्पनीले दिएको खबर आश गरौं पुल बन्छ कि ?”
भजनी नगरपालिकाले निर्माण कम्पनीले यसवर्ष पनि पुल निर्माण नभए आफ्नै स्रोतबाट बाँकी काम सम्पन्न गरि आवागमनलाई सहज बनाउने तयारी समेत थालेको छ । नगरपालिकाले पुलको बाँकी कामका लागि हुन आउने खर्चको स्टिमेट समेत तयार पारेको नगरपालिकाका नगर प्रमुख केवल चौधरीले बताउनुभयो । “संघीय मन्त्रालयसँग समन्वय गर्दा पुलको काम पुस महिना भित्र सम्पन्न गर्ने आश्वासन पाएका छौं । त्यहाँसम्म पनि पुलको काम अगाडि बढ्न सकेन भने नगरपालिकाको अन्य विकास बजेट कटौती गरेर पनि पुलको काम यसैवर्ष पूरा गर्छौं ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “पुस महिनासम्म हेर्छौं भएन भएन भने हिउँदे अधिवेशनबाट बजेट विनियोजन गरी पुलको काम अगाडि बढ्छ ।”
नगरपालिकाले गरेको पुलको स्टिमेटअनुसार एक करोड ५० लाखमा बाँकी काम सम्पन्न हुने देखिएको छ । “पुल हाम्रो क्षेत्रका लागि समस्या मात्रै भएन । यसले विकासमा नै प्रश्न उठाउन थाल्यो ।” नगर प्रमुख चौधरीले भन्नुभयो, “एउटै विकासको कामको लागि ११ वर्ष कुर्नुपर्ने अवस्था पुलकै कारण हाम्रा अगाडि हुँदा नागरिकहरूलाई विश्वास दिलाउन समेत कठिन हुँदै गएको छ ।”
पुल निर्माणको लागि लामा, शाल्पा, शेर्पा, तिरुवा जेभीसँग चार करोड ४३ लाखमा २०६८ सालमा ठेक्का भएको थियो । पटकपटक म्याद थप भएपनी पुल निर्माण हुन सकेन । हुलाक सडक कार्यालय धनगढीका इन्जिनियर पदम मडैले चैत महिनासम्म आयोजनाको म्याद थप गरिएको बताउनुभएको छ । “हामिले कारबाहीका लागि सुचना समेत प्रकाशित गरिसकेका थियौं । ठेक्का तोडेर नयाँ टेन्डर निकाल्ने योजना थियो ।” इन्जिनियर मडैले भन्नुभयो, “सरकारले चालू सबै आयोजनाको लागि एक वर्ष म्याद थप गर्ने निर्णय गरेपछि उक्त आयोजनाले पनि चैतसम्म काम गर्न पाउने भएको हो ।”
उहाँका अनुसार लगातार काम गर्न सके दुई महिनामा काम सम्पन्न हुने बताउँदै पहिलेकै जस्तो गरे चैतमा पनि काम सम्पन्न हुन नसक्ने इन्जिनियर मडै बताउनुहुँन्छ । उहाँले आयोजनाको ठेक्का नतोडी अर्कोले काम गर्न नपाउने बताउँदै नगरपालिकाले आफै बनाउने भएपनि पहिलाको ठेक्का तोड्नैपर्ने बताउनुभएको छ । “ठेक्का नतोडेर अर्कोलाई कामको जिम्मा दिन सक्दैन । नगरपालिकाले नै काम गर्न भएपनि अहिलेको ठेक्का तोड्नुपर्छ ।” मडैले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *