खानेपानीले बुझायो नगरपालिकालाई कागजात

शेयेर गर्नुहोस


टीकापुर २० जेठ/
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले टीकापुर नगरपालिकाले माग गरेका कागजात झण्डै दुई महिनापछि बुझाएको छ ।
नगरपालिकाले गएको चैत २० गते खानेपानी संस्थासँग आर्थिक वर्ष २०७०/०७१ सालदेखिका खानेपानी संस्थासँग सम्बन्धित कागजात माग गरेकोमा संस्थाका सचीव प्रकाश खड्काले प्रमुख प्रशासकीय अधिकृतलाई उक्त कागजात मंगलबार बुझाएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरल टीकापुर नगरपालिकालाई प.सं.८-०४४३९६/अनु, २ (घ) ०८२।०८३ च.नं. KNP-८२८३-३७८०७ मिति २०८२-११-११ गतेको पत्र प्राप्त भइ उक्त पत्र मार्फत लेखि आएको व्यहोरा बमोजिम नगरपालिकाले खानेपानी संस्थालाई कागजात माग गरेको थियो ।
नगरपालिकाले आर्थिक वर्ष २०७०/०७१ देखि हाल सम्मका अन्तिम लेखा परिक्षण प्रतिवेदनहरु, आर्थिक वर्ष २०७०/०७१ देखि हाल सम्मको महसुल संकलन तथा बैंक दाखिला विवरणहरु, २०७०/०७१ देखि हाल सम्म के कति खरिद भयो, कुन विधिवाट खरिद भयो खरिद प्रकृया/विधि खुल्ने विवरणहरु माग गरिएको थियो । त्यसैगरी कार्यालयमा भएका सवारी साधनको विवरण र तिनको मर्मत गरेको प्रकृया तथा मर्मत खर्च रकमको विवरणहरु, कर्मचारी नियुक्ति, बढुवा र तलब स्केल तथा तलब भत्ता बढेको भए के कसरी बढेको हो निर्णय सहितको विवरणहरु नगरपालिकाले खानेपानी संस्थासँग माग गरेको थियो ।
“हामीलाई माग भएका कागजात संकलन गर्न समय लागेको कारण नगरपालिकालाई बुझाउन समय लागेको हो ।” सचीव खड्काले भने, “अहिले पनि अध्यक्ष ज्युले पत्रमा हस्ताक्षर गर्न आनाकानी गरेपछि आफैले पत्रमा हस्ताक्षर गरेर नगरपालिकालाई बुझाएका छौ । खानेपानी संस्थामा आर्थिक हिसाबकिताब पारदर्शी नभएको भन्दै उपभोक्ता बाट पनि विरोध हुँदै आएको छ । वर्तमान कार्यसमिति भित्रको आन्तरिक विवादले संस्था दिनप्रतिदिन धराशायी बन्दै गएको छ ।
पछिल्लो समयमा कार्यसमिति दुई भागमा विभाजित हुँदा संस्था भित्रका आन्तरिक कुराहरू पनि बाहिर आउन थालेका छन् । अध्यक्ष, सचीव र कोषाध्यक्ष बीचको टसलले खानेपानी संस्था अहिलेसम्मकै सबैभन्दा बढी अस्तव्यस्त बनेको छ । संस्था प्रतीको दृष्टिकोण दिनप्रतिदिन उपभोक्ताको फेरिँदै गएको छ । कर्मचारी संयन्त्र समेत त्यो कार्यसमितिको विवादले अस्तव्यस्त बन्दै गएको छ । आर्थिक पारदर्शितामा कठोर बन्ने उद्घोष गरेको कार्यसमितिका लागि पछिल्ला दिन त्यसैले समस्यामा ल्याउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *