गाउँपालिकाले खरिद गर्यो महाप्रस्थान यान

शेयेर गर्नुहोस


टीकापुर २६ असोज/
जानकी गाउँपालिकाले दिवंगत व्यक्तिको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि घाटसम्म पुर्‍याउन सहजीकरण गर्ने उद्देश्यले महाप्रस्थान यान खरिद गरेको छ ।
मृत्युपश्चात् पार्थिव शरीरलाई सम्मानजनक रूपमा अन्तिम संस्कार स्थलसम्म पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त महाप्रस्थान यान खरिद गरेर ल्याएको हो । खरिद भएको महाप्रस्थान यानको साँचो हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश चौधरी, उपाध्यक्ष लालमती कठरिया, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत ज्योत्स्ना भट्ट जोशी लगायतको उपस्थिति रहेको थियो ।
दुःखको घडीमा शोकसन्तप्त परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको यस सेवाले अन्तिम संस्कारको प्रक्रियालाई सहज, व्यवस्थित र सम्मानजनक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गाउँपालिकाले गरेको छ । शव वाहन सञ्चालनमा आएपछि दिवंगत व्यक्तिको पार्थिव शरीरलाई घाटसम्म पुर्‍याउन स्थानीय परिवारलाई सहज हुने विश्वास गरिएको छ ।
पछिल्लो समयमा शव वाहन हरेक स्थानीय तहका लागि निकै महत्त्वपूर्ण साधनको रुपमा हेर्न थालिएको छ । यसअघि टीकापुर नगरपालिकामा महाप्रस्थान यान रहे छिमेकी पालिकामा थपिएको उक्त साधनले दुबै स्थानीय तहलाई सहज हुने स्थानीयको विश्वास छ । उसो त गाउँपालिकाले कृषि एम्बुलेन्स समेत सञ्चालनमा ल्याएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *