देखिएन विगत जस्तो तीजमा उत्साह

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर २४ भदौ /
कैलालीको टीकापुर वडा नं.१ कि धना बोगटी आज बिहानै कैलाशेश्वर शिव मन्दिर पुजाको लागि पुग्नु भएको थियो । उहाँ विगतका वर्षहरु जस्तै यस वर्ष पनि मन्दिरमा भिडभाड होला भनेर सबेरै मन्दिर पुग्नुभयो । तर मन्दिरमा धनाले सोचेजस्तो थिएन । “घरबाट पुजा गर्न पालो नपाइएलाकी भनेर छिटै आइयो । यहाँ कोहि दर्शनार्थी नै रहेनछन् ।” धनाले भन्नुभयो, “यस वर्ष अचम्मै भएछ । गत वर्ष भन्दापनि कोरोनाको प्रभाव यसवर्ष परेको जस्तो लाग्यो ।”
श्रीकृष्ण जन्माष्टमी देखि नै महिलाहरूले दर खाने र रमाइलो सुरु गर्ने भएपनि यसवर्ष कतै तीजका गितहरु सुनिएनन । नत बजारमा चहलपहल भयो नत गाउघरमा रातभर तीजका गीतहरू गुंञ्जिए । प्रशासनले निषेधाज्ञा खोलेको भएपनि भिडभाडमा रोक लगाएकोमा त्यसको पुर्ण कार्यान्वयन भएको पाइयो ।
मन्दिरमा पुजाको लागि पुग्नुभएकी पुजा साउँदलाई पनि यसवर्षको तीज खल्लो लाग्यो । बिहानै मन्दिरमा पुजा गरेर साथीहरूसँग रमाइलो गर्दै बजारका चोकचोकमामा लाग्ने तीज कार्यक्रमहरुमा नाच्दैँ साझ घर पुग्ने दिन कहिले आउला जस्तो भएको उहाँ बताउँनुहुन्छ । “तीज पर्व महिलाहरूको लागि विशेष पर्व भएपनि त्यो उत्साह र उमंग यो वर्षको तीजमा देखिएन ।” पुजाले भन्नुभयो, “नाचगान गर्दै रमाइलो गर्ने दिन गए । अब घरमै बस्ने टिभी हेरेर दिन बिताउनुको अर्को विकल्प छैन ।”
कैलाशेश्वर शिव मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले मन्दिरहरुमा पुजा गर्न आउने भक्तजनहरुको विगतका वर्षहरूमा जस्तो भिडभाड नरहेको बताउनुभएको छ । “कोरोनाको त्रासका कारण भक्तजनहरु मन्दिरसम्म पुग्न सकेका छैनन् । विगतका वर्षहरुमा आजको दिन मन्दिरमा भिडभाड नियन्त्रण गर्नै मुस्किल हुने गर्थ्यो । हजारौं भक्तजन दर्शनका लागि मन्दिर पुग्थे ।” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “गतवर्षको भन्दा पनि यसवर्ष झन नागरिकहरूमा त्रास देखिएको छ, भने नागरिकहरुले कोरोनालाइ अहिले गम्भीर रुपमा लिन थालेकै कारण भिडभाड हुन छोडेको हो ।”
टीकापुर नगरपालिकाकी नगर उपप्रमुख केशरी बिष्टले कोरोनाको संक्रमणका कारण नै तीज पुजामै सिमित रहेर सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले कोरोनाका कारण भएको छ महिना लामो बन्दले आर्थिक रुपमा पनि निकै अप्ठ्यारो अवस्था सिर्जना गरेको बताउँदै सबैमा उत्साह भन्दा बढी दुखको बोझ भएकोले पनि तीजमा चहलपहल कम भएको बताउनुभयो । “अधिकांशको घरमा उत्साह भन्दा बढी दुख छ । आर्थिक रुपमा निकै ठूलो चुनौती अहिले ल्याएको छ ।” नगर उपप्रमुख बिष्टले भन्नुभयो, “सबै कुरा आर्थिकसँगै जोडिने भएका कारण यो वर्षको तिज स्पेसल हुनसकेन । मनमा पिडाको भारी बोकेर कसरी उत्साह ल्याउन सकिन्छ र ?”
महिलाहरूमा मात्रै उत्साह नभई व्यावसायिक रुपमा पनि यो वर्ष निकै प्रभाव परेको स्थानिय किराना ब्यापारी नन्दसिंह विक बताउँनुहुन्छ । “बिगतका वर्षमा यस्ता चाडपर्वहरुमा दैनिक एक लाख भन्दा बढीको कारोबार हुन्थ्यो । यसवर्ष दैनिक १० हजारको पनि ब्यापार भएन ।” नन्दसिंहले भन्नुभयो, “चाडपर्व आयो भनेर मात्राभन्दा बढी सामान मगाइयो । ब्यापार छैन, कसरी ऋण तिर्नेहोला ?” लगातार दुई वर्षको कोरोनाको कारण नागरिकहरुसँग पैसा नभएकै कारण ब्यापारमा पनि त्यसको असर परेको ब्यापारी नन्दसिंह बताउँनुहुन्छ ।
टीकापुरमै कपडाको व्यावसाय गर्दै आउनुभएका श्याम खनाल पनि यसवर्षको तीजको चहलपहल देखेर दंग हुनुभएको छ । खासगरी उहाँको ब्यापार हुने भनेकै तीजमा हो । यो वर्ष उहाँलाई ब्यापार राम्रो हुने अपेक्षा थियो त्यो हुन सकेन । “मेरो मात्रै होइन बजारमा जुनसुकै क्षेत्रमा पनि ब्यापार छैन । पसल कुरेर ग्राहक पर्खेर बस्नुपर्ने बाध्यता छ । कहिलेकाही त पसल खोल्नुमात्रै पनि हुन्छ ।” श्यामले भन्नुभयो, “बजारमा मान्छेको आवतजावत नै छैन, कसरी ब्यापार हुने हो ? अर्को तिर मानिसहरूसँग पैसापनि छैन ।मानिसहरूसँग पैसा भएपछि पो सामान किन्न बजार आउने हुन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *