किसानहरूसँग बीमा सम्बन्धि अन्तरक्रिया

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ भदौ/
किसानहरूलाई बाली तथा पशुपन्छी बीमा सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
रानी जमरा कुलरीया सिचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरको आयोजनामा भएको गोष्ठीमा एनएलजी इन्स्योरेन्सका बीमा अभिकर्ता देबिराम कोइरालाले बीमा र जोखिम प्रयावाची शब्द भएको बताउँदै किसानहरूलाई आत्मनिर्भर बनाउनकै लागि सरकारले कृषि तथा पाहुपन्छी बीमालाई अनिवार्य बनाइएको बताएका छन् । उनले सरकारले कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा चालू अर्थिक वर्षमा ५० प्रतिशत अनुदान दिएको बताउँदै गत आर्थिक वर्षसम्म ७५ प्रतिशतसम्मको अनुदानको व्यवस्था गरिएको बताएका छन् । तर शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले कृषि बीमामा ८०प्रतिशत अनुदान दिने बताएका छन् । कोइरालाले माछाको हकमा भुरा हालेको १५ दीन भित्र र आलुको एक हप्ता देखि १० दिन भित्र बीमा गरिसक्नुपर्ने बताएका छन् । “बैंकको कर्जाको लागि मात्रै बाली तथा पशु बीमा गर्ने गरिएको मात्रै छ । बैंकले कर्जाको लागि बीमा अनिवार्य गरेका कारण पनि बीमा बाध्यकारी जस्तो भएको हो ।” कोइरालाले भने, “बैंकको कर्जाका लागि बीमा गर्दा उस्ले भोलि व्यावसायको क्षति भएपनि उस्ले क्षतिपूर्ति नपाउन सक्छ । व्यावसायीहरु फाइदाको लागि अधिकांशले बीमा गर्दैनन् ।”
राष्ट्रिय बीमा कम्पनी लिमिटेड धनगढीका प्रतिनिधि काषीराम जोशीले नेपालमा पशु बीमाको अवस्था धेरै राम्रो रहेको बताउँदै बाली बीमामा किसान अझै आकर्षित हुन नसकेको बताएका छन् । उनले बाली तथा पशुपन्छी बीमा निर्देशिका २०७७ कार्यान्वयनमा आएको अवस्थामा झनै सहज हुने बताएका छन् । “हामिले बीमा त गर्छौ तर सबै कुरा नबुझेर बीमा गर्दा पछि निकै समस्या ल्याउन सक्छ ।” जोशीले भने, “त्यसैले बीमा सम्बन्धि राम्रोसँग बुझेर गर्दा समस्या हुँदैन । बीमा समितीको कार्यालयको समन्वय सबै ठाउँसम्म पहुँच भए अझै सहजता हुनेछ ।”
कार्यक्रममा कृषि कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख भरत कडेलले बीमाको काम बल्झेको घाउमा मलमपट्टीको काम मात्रै गर्ने बताउँदै पुर्ण औषधि उपचार बीमा कम्पनीले गर्न नसक्ने बताएका छन् । “जहाँ बढी जोखिम हुन्छ त्यहाँ प्रीमियम बढी र जहाँ कम जोखिम हुन्छ त्यहाँ प्रीमियम पनि कम हुने गर्दछ ।” कडेलले भन्नुभयो, “अहिले किसानले बीमा कम्पनीलाई र बीमा कम्पनीले किसानलाई दोश दिनेगरेको छ ।” उनले किसानहरु आफ्नो बस्तुको क्षति हुँदा बढी फाइदा लिने प्रयत्नमा लाग्दा सबै गुमाउँदै आएको समेत बताएका छन् ।
कार्यक्रममा किसानहरूले माग दावी गर्दा क्षति भएको १५ दिनभित्र कम्पनीलाई खबर गरिसक्नुपर्ने व्यवस्था गरिरएको भन्ने भनिएको भएपनि बीमा गर्दा भन्दा पछि दाबी भुक्तानीका बेला निकै समस्या हुने गरेको बताएका छन् । उनीहरुले बीमा कम्पनीहरुले किसानलाई राम्रो सहजीकरण गर्न नसकेका कारण पनि समस्या आउने गरेको बताउँदै सहजीकरणमा बीमा कम्पनीहरुले जनचेतना फैलाउन आवश्यक रहेको बताएका छन् । उनीहरुले बीमा कम्पनीले किसानहरूलाई सहज हुनेगरी अगाडि बढ्नुपर्ने भन्दै बढी भन्दा बढी किसानहरूलाई बीमाको पहुँचमा ल्याउन आवश्यक रहेको बताएक छन् ।
कार्यान्वयन इकाई प्रमुख कडेलको अध्यक्षतामा भएको अन्तरक्रिया गोष्ठीमा आयोजनाको कमान्ड एरिया भित्रका कृषि सहकारीका प्रतिनिधि, कृषक समुहका साथै किसान लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजना अधिकृत दिलीपजंग रानाले गरेका थिए भने कार्यक्रमको स्वागत तथा उद्देश्य माथी प्रकाश बाली विकास अधिकृत जयबहादुर महतराले पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *