नगरपालिकाको नगर सभा अनिश्चित

शेयेर गर्नुहोस


टीकापुर ०४ असार /
टीकापुर नगरपालिकाले आव्हान गरेको नगर सभाको बैठक अनिश्चित बनेको छ ।
नगरपालिकाको कार्यवाहक नगर प्रमुख पदले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम पेश गर्ने गरी असार ५ गतेको लागि आह्वान गर्ने भनिएको १९ औं नगर सभा बैठक अनिश्चित बनेको हो । सर्वोच्च अदालतले असार ८ गते कार्यवाहक नगर प्रमुखको विषयमा छलफलका लागि बोलाएको हुँदा अहिले नगरपालिकाको ध्यान आगमी आर्थिक वर्षको बजेट भन्दा कार्यवाहक नगर प्रमुखमा बढी केन्द्रित देखिएको छ ।
नगरपालिकाको ६८ औं कार्यपालिका बैठकले जेठ १९ गते नै असार ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको थियो । उक्त बैठक कार्यवाहक नगर प्रमुख बलीराम चौधरी थिए । त्यसपछि सर्वोच्चको अल्पकालीन आदेशले असार ८ गतेसम्म कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा चौधरीलाई नरहन भन्यो । कार्यवाहक नगर प्रमुखको विवाद सतहमा पुगेपछि यतिबेला नगरपालिका अनिर्णयको बन्दी जस्तै बनेको छ ।
“कार्यपालिकाले असार ५ गतेका लागि आव्हान गर्ने भनेको बैठक स्थगित हुन्छ । अर्को बैठक कहिले बस्ने भन्ने विषयको टुंगो लागेको छैन ।” प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले भने, “कम्तिमा नीति तथा कार्यक्रम समयमा ल्याउनुपर्छ भन्ने हो । फेरि जनप्रतिनिधिले पनि त्यसमा चासो दिएको पाइँदैन ।” उनकाअनुसार वडाबाट आउने योजना बाँडफाँड र बजेट बाँडफाँड भैसकेको छ । असार ८ गते नै सर्वोच्चले फैसला गर्यो भने १० गतेभित्र बजेट ल्याउन सकिने सम्भावना कायमै रहेको प्रमुख प्रशासकीय अधिकृत धितालको भनाइ छ ।
उता कार्यवाहक नगर प्रमुखको जिम्मेवारीमा फर्किएका रामबहादुर नगार्जीले असार ५ गतेका लागि आव्हान भएको नगर सभाको बैठकको बारेमा आफुलाई जानकारी नभएको बताए । “म जेठ १९ गतेको कार्यपालिका बैठकमा सहभागी भएको थिएन । के निर्णय भएको छ, मलाई थाहा छैन ।” उनले भने, “कसैले समन्वय र सहकार्य गर्न नै नचाहेको अवस्थामा समयमै बजेट आउने सम्भावना कम छ् ।” उनले प्रमुख प्रशासकीय अधिकृतले आफुसँग समन्वय गर्न नखोजेको आरोप समेत लगाएका छन् । उनले पटकपटक फोन गर्दा पनि फोन नउठाउने भएपछि संघीय मन्त्रालयसम्म गुनासो गर्नुपरेको बताएका छन् ।
कानुन अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने हुन्छ । आन्तरिक कलहका कारण सधैं चर्चामा रहने नगरपालिकाले हालसम्म असार १० गते भित्र बजेट नल्याएको स्थिति थिएन । यसपटक असार १० गतेभित्र बजेट आउने सम्भावना भने निकै कम देखिएको छ । अझै सर्वोच्चको फैसला पछि पनि नगरपालिका सहि बाटोमा अगाडि बढ्ने सम्भावना निकै कम छ । खासगरी प्रमुख प्रशासकीय अधिकृत धिताल र कार्यवाहक नगर प्रमुख नगार्जी बीच देखिएको फाटोले नगरपालिका झन अनिर्णयको बन्दी बन्न सक्ने स्थिति बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *