शेयेर गर्नुहोस
टीकापुर ०३ असार /
नगरपालिकाको पुँजीगत खर्च निकै कमचालू आर्थिक वर्ष सकिन लाग्दा पनि टीकापुर नगरपालिकाको पुँजीगत खर्चको अवस्था निकै दयनीय देखिएको छ ।
आर्थिक वर्षको ११ महिना सकिँदा नगरपालिकाको पुँजीगत खर्च ३० प्रतिशत पनि भएको छैन । चालू आर्थिक वर्षमा पुँजीगत तर्फ ३८ करोड ३४ लाख ८० हजार बजेट विनियोजन गरेको नगरपालिकाले जेठसम्म १० करोड ३५ लाख एक हजार मात्रै बजेट खर्च गरेको छ । जुन कुल बजेटको करिब २७ प्रतिशत हो । नगरपालिकाले यहीँ असार २४ गतेसम्म २८ करोड पुँजीगत बजेट खर्च गर्नुपर्ने हुन्छ ।
नगरपालिकाका लेखा अधिकृत देवी कृष्ण जैशीका अनुसार यहीँ समयमा गत वर्ष पुँजीगत तर्फको झण्डै ३२ प्रतिशत बजेट खर्च भएको थियो । गतवर्ष कुल बजेटको ५७ प्रतिशत पुँजीगत बजेट खर्च गरेको नगरपालिकाले यसवर्ष ५० प्रतिशत पुर्याउन सक्ने स्थिति देखिएको छैन । “यसवर्ष मंसिरबाट मात्रै योजना तथा कार्यक्रम कार्यान्वयनमा आएका हुन । अर्कोतिर मूल्य वृद्धि लगायतका समस्याले निर्माण कम्पनीले सोचेजस्तो कामको प्रगति देखाउन सकेका छैनन् ।” जैशीले भने, “अब यति नै खर्च हुन्छ भन्न नसके पनि तुलनात्मक रुपमा अपेक्षा गरेअनुसार पुँजीगत खर्चको प्रगति देखिने सम्भावना कम छ ।”
नगरपालिकाले चालू तर्फ भने पुँजीगत भन्दा झण्डै दोब्बर खर्च गरेको छ । ६५ करोड ८७ लाख ५९ हजार बजेट विनियोजन भएकोमा जेठसम्म ३९ करोड १२ लाख ३० हजार खर्च भएको छ । जुन खर्च चालू तर्फको कुल बजेटको झण्डै ६० प्रतिशत हो । लेखा अधिकृत जैशीका अनुसार चालू तर्फको खर्च भने ८० प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ । एक अर्ब चार करोड २२ लाख ३९ हजार कुल बजेट रहेको नगरपालिकाले समग्रमा ४९ करोड ४७ लाख ३२ हजार अर्थात ४७ दशमलव ४६ प्रतिशत बजेट खर्च भएको छ ।
खासगरी पुँजीगत तर्फको संघ र प्रदेश सरकारबाट प्राप्त अनुदानको बजेट खर्च नहुँदा त्यसको भार नगरपालिकालाई बर्सेनि थपिँदै गएको छ । संघ र प्रदेश सरकारले समपुरक, विशेष, वित्तीय समानिकरण र सशर्त अनुदानको रकम आर्थिक वर्ष भित्र खर्च नभएपछि फिर्ता जान्छ । काम नभएर बजेट फिर्ता गएपछि आधा भएको योजनाको बाँकी काम सम्पन्न गर्नका लागि स्रोतको सुनिश्चितता नहुँदा स्थानीय तहमा बर्सेनि आर्थिक दायित्व बढ्दै गएको छ । “यसवर्ष मात्रै झण्डै तिन करोड आर्थिक दायित्व नगरपालिकालाई थपिएको थियो । त्यसका लागि स्रोतको सुनिश्चितता गर्न नसक्दा अहिले त्यस्ता आयोजनाको भुक्तानी तीन किस्तामा दिने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।” उनले भने, “यसवर्ष त्यस्ता आयोजनाको काम सम्पन्न नभएपछि बाँकी काम अर्को वर्ष भए त्यसको स्रोत नगरपालिकाले जुटाएर भुक्तानी दिनुपर्ने बाध्यता छ ।”
यसपटक नगरपालिकाले सुचना नै जारी गरेर त्यस्ता अनुदान मार्फत भैरहेको काम सम्पन्न गरेर असार १५ गतेभित्र भुक्तानीका लागि आउन आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले अनुदानका आयोजना आर्थिक वर्ष भित्र सम्पन्न नहुँदा त्यसको आर्थिक दायित्व नगरपालिकामा सिर्जना हुने र त्यसको भुक्तानीको नगरपालिकासँग कुनै स्रोत नहुँदा जुनसुकै हालतमा पनि काम सक्न निर्माण कम्पनीलाई पत्राचार गरिएको छ । असार १५ भित्र भुक्तानीको लागि नआएमा सार्वजनिक खरिद कानुन बमोजिम कारबाही हुने जानकारी समेत दिइएको छ ।









