शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी २९ कार्तिक /
भजनी नगरपालीकाले आर्थिक वर्ष २०८२/०८३ काे वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।
भजनी नगरपालीकाले शनिबार आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा गरेको हो । कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ काे वार्षिक प्रगती विबरण सम्पुर्ण साखा प्रमुखहरुले प्रस्तुत गरेका थिए । नगरपालिकामा प्रमुख प्रशाशकिय अधिकृत भोजराज भट्टले प्रशासन क्षेत्रलाई चुस्त दुरुस्त पार्ने प्रयासले विगतमा भन्दा नगरपालिकाको कार्यप्रगती सुधारोन्मुख देखिएको छ ।
यसभन्दा पहिलेका प्रशासकीय अधिकृत प्रायः लामो समयसम्म नगरपालिकामा बस्न मन नगर्ने, बस्न मन गर्नेहरूले नगरपालिकालाई झन कमजोर स्थितिमा पुर्याएको बेला प्रशासनिक क्षेत्रमा जवाफदेही ढंगबाट काम गर्दै आएका भट्टले भने तुलनात्मक रुपमा सकारात्मक काम गरेको स्थानीयको भनाइ छ । त्यसैअनुसार वार्षिक प्रतिवेदनले पनि विगतका वर्ष भन्दा नगरपालिकाले थुप्रै राम्रा कामहरू गरेको देखाएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भट्टले विगतका कमजाेरीलाई सुधार गर्दै अझै व्यवस्थित र जनमुखी बनाएर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले कर्मचारीसँग जनप्रतिनिधिको साथ, सहयोग र समन्वयले मात्रै भजनी नगरपालिकालाई समृद्ध बनाउन सकिने बताए । “कर्मचारीसँगै विकास, समृद्धि र सुशासनका लागि जनप्रतिनिधि पनि जवाफदेही बन्नुपर्छ ।” उनले भने, “दुबैको समन्वयले मात्रै स्थानीय सरकारलाई सबल र सफल बनाउन सकिन्छ ।” उनले समिक्षा कार्यक्रमले औल्याएका कमजोरीलाई आगामी दिनमा सच्याएर जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नगरपालिकामा तुलनात्मक रुपमा धेरै कामहरू भएको उल्लेख गर्दै जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको स्वीकार गरे । “हाम्रो स्रोतसाधन सिमित छ, जनताको अपेक्षा असीमित छ ।” उनले भने, “सिमित स्रोतसाधनले असीमित अपेक्षा पूरा गर्न चुनौती छ । तर तुलनात्मक रुपमा धेरै कामहरू भएका छन् ।” उनले कर्मचारी र जनप्रतिनिधिको सम्बन्ध सधै समधुर ढंगले अगाडि बढ्नुपर्ने समेत बताए ।










