पुलको गुणस्तर माथी प्रश्न उठ्दै

शेयेर गर्नुहोस


टीकापुर १५ साउन/
टीकापुर दौलतपुर हुँदै बर्दियामा राजापुर जोड्ने कर्णाली नदीमा निर्माण भएको झुलुङ्गे पुलको गुणस्तर माथी व्यापक प्रश्न उठ्न थालेको छ ।
निर्माणको सम्झौता अवधी भन्दा एक वर्ष अगाडि अर्थात सुरु भएको झण्डै ९ महिनामै सम्पन्न भएको झुलुङ्गे पुलको पिलर सञ्चालन भएको एक महिना नपुग्दै चर्किएपछि गुणस्तर माथी व्यापक प्रश्न उठेको हो । पुलको गुणस्तर र सुरक्षासम्बन्धी व्यापक जनगुनासो आएपछि प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले निर्माण कम्पनीसँग छलफल समेत गरेका छन् ।
सांसद चौधरीले बिहिवार पुल परिसरमै पुगेर निर्माणको जिम्मा पाएको थानी निर्माण सेवाका प्रबन्धक विक्रम बस्नेतसँग पुलको प्राविधिक अवस्थाबारे जानकारी लिएको बताएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा पुलको निर्माण गुणस्तर र सुरक्षालाई लिएर विभिन्न प्रश्न उठ्न थालेपछि सांसद चौधरीले स्थलगत अनुगमन गर्दै निर्माण पक्षसँग आवश्यक जानकारी लिँदै देखिएका समस्या समाधानका लागि निर्देशन समेत दिएका छन् । छलफलका क्रममा पुल निर्माणमा देखिएका प्राविधिक पक्ष, पिलरको अवस्था तथा आवश्यक सुधारका विषयमा विस्तृत कुराकानी भएको जनाइएको छ।
छलफलपछि पुलका पिलरको जग (फाउन्डेसन) वरिपरि रहेको माटोलाई जेसीबी प्रयोग गरी सम्याउने कामसमेत सुरु गरिएको छ। निर्माणस्थलमा आवश्यक सुधार गर्दै पुललाई सुरक्षित, गुणस्तरीय र दीर्घकालीन बनाउने विषयमा निर्माण कम्पनीलाई निर्देशन दिइएको सांसद चौधरीले बताएका छन् ।
उनले जनताको सुविधा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिँदै जनगुनासोलाई गम्भीर रूपमा लिइएको बताएका छन् ।
निर्माण कम्पनीका प्रबन्धक बस्नेतले उठेका गुनासोका विषयमा आवश्यक प्राविधिक सुधार गरिने र निर्धारित मापदण्डअनुसार निर्माण कार्य सम्पन्न गरेको दाबी गरे । पुलको पिलर चर्केपछी आवागमन एक हप्ताको लागि बन्द गरिएको छ । स्थानीयले समय भन्दा एक वर्ष अगाडि काम सम्पन्न हुँदा गुणस्तर हिन काम भएको हुनसक्ने आकलन गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *