शेयेर गर्नुहोस
टीकापुर ०४ साउन /
टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्ने “टीकापुर गोल्डकप २०८३” को पुरस्कार राशी सार्वजनिक गरिएको छ ।
असोज १९ गतेदेखि २६ गतेसम्म टीकापुरमा आयोजना हुन लागेको टीकापुर गोल्डकप बिजेताले ७ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यसैगरी उपविजेताले चार लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका महासचिव प्रकाश तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार प्रतियोगिताको तेस्रो हुनेले एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने शान्त्वना हुने टिमले ५० हजारमा चित्त बुझाउनुपर्ने छ ।
प्रतियोगितामा वेस्ट प्लेयरले नगद १५ हजार, वेस्ट कोच हजार, वेस्ट गोलकिपर, वेस्ट फर्वार्ड, वेस्ट डिफेन्डर र उर्जावान खेलाडीलाई जनही १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासचिव तिमिल्सिनाले जानकारी दिएका छन् । उनले गोल्डकपको तयारी तिब्र भैरहेको बताएका छन् । संघले गोल्डकपको लागि नागरिकहरूबाट पनि स्वैच्छिक सहयोग संकलन गर्दै आएको छ ।
संघले प्रतियोगिता टीकापुर खड्ग स्मृति रंगशालामा आयोजना गर्ने भनेको छ । तर, रंगशालामा अहिलेकै अवस्थामा खेल खेलाउन सक्ने स्थिति भने निकै कम छ । वर्षातको समयमा मैदानमा घाँस निकै ठूलो छ । खाल्डाखुल्डी उस्तै छन् । मैदानको संरचना अस्तव्यस्त छन् । यो अवस्थामा खेल मैदान व्यवस्थापन गर्न मात्रै लाखौं खर्च हुने सम्भावना छ । संघले प्रतियोगिता आयोजना गर्न मात्रै एक करोड ८० लाख भन्दा बढी खर्च लाग्ने बताएको छ । प्रतियोगितामा भुटानबाट समेत खेलाडी आउने बताइएको छ ।
“हामीले त्यहीँ रंगशालामा खेल खेलाउने गरी तयारी गरेका छौँ । अब त्यसको व्यवस्थापनका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय भैरहेको छ ।” संघका अध्यक्ष सन्तोष खड्काले भने, “सबैबाट सकारात्मक रुपमा सहयोग र समन्वय भए त्यो रंगशालाको स्तरोन्नतिसँगै गोल्डकप सम्पन्न हुनेछ ।” उनले प्रतियोगिताले टीकापुरलाई अन्तरास्ट्रिय स्तरसम्म चिनाउन मद्दत पुग्ने बताउँदै सबैलाई सकारात्मक रुपमा सहयोग गर्न अपिल समेत गरे । “हामी टीकापुर बनाउने समना देखिरहेका छौँ भने कुराले होइन कामले देखाउनुपर्ने छ ।” उनले भने, “यहाँ हरेक सामाजिक अगुवाले भ्रममा उदारो कुरा गर्दा समस्या भैरहेको छ ।”










