बर्सेनि बढ्दै आत्महत्याका घटना

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २६ भदौ /
विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै शुक्रबार मनाइएको छ ।
पछिल्लो समयमा आत्महत्याका घटनाहरू बाढ्दै गएको अवस्थामा त्यसको न्यूनीकरणका लागि सबै क्षेत्रबाट समन्वय आवश्यक रहेको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताएका छन् । टीकापुर नगरपालिकाको आयोजनामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख रावलले अहिले सामाजिक सञ्जालको गलत प्रयोगका कारणले पनि आत्महत्याका घटनामा वृद्धि भएको बताएका हुन । “घरायसी विवादले पनि आत्महत्याका घटना वृद्धि गरेको छ । विशेषगरी सामाजिक सञ्जालको सहि प्रयोग हुन नसक्दा आत्महत्याका घटनामा वृद्धि हुँदै गएको पनि देखिन्छ ।” नगर प्रमुख रावलले भने, “अभिभावकहरु अहिले आफ्नो बालबालिकाहरु प्रती बढी जिम्मेवार देखिनुपर्ने बेला आएको छ । र समाजमा त्यसको सचेतना फैलाउने काम गर्न पनि आवश्यक देखिएको छ ।”
कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले समाजका लागि आत्महत्याका घटना दिनप्रतिदिन जटिल बन्दै गएको बताएका छन् । “तथ्यांकलाई हेर्ने हो भने पनि बर्सेनि आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । बढिजसो घटनाहरुमा युवायुवती र बालबालिकाहरु बढी संलग्न देखिन्छन् ।” प्रहरी नायब उपरीक्षक सापकोटाले भने, “यसलाई अहिले रोक्न सकिएन भने भोलि अझै जटिल बन्ने निश्चित छ । त्यसकारण आम नागरिकहरुलाई सचेतना फैलाउने खालका समुदाय स्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।”
ईलाका प्रहरी कार्यालय टीकापुरको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा पनि आत्महत्याका घटना बर्सेनि बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ३९ जनाले आत्महत्या गरेको देखिन्छ । जसमा महिला १९ जना र पुरुष २० जना रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १८ जना महिला,२० जना पुरुष गरि ३८ जनाले आत्महत्या गरेको तथ्यांक ईलाका प्रहरी कार्यालय टीकापुरमा छ । भने, गत आर्थिक वर्षमा पनि १८ जना महिला र ३४ जना पुरुषले आत्महत्या गरेका छन् । त्यसैगरी चालू आर्थिक वर्षको भदौ २४ गतेसम्म २ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेको तथ्यांक छ ।
कार्यक्रममा टीकापुर क्षेत्रका विभिन्न बिधालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन कमल रावलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *