शेयेर गर्नुहोस
टीकापुर २८ साउन/
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।
।बिहीबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजिनामा दिएका हुन । आर्थिक वर्ष २०८३/०८४ को बजेटका विषयमा विवाद चर्किएपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । समर्थन फिर्ता लिएको ३० औँ दिनमा शाहले राजीनामा घोषणा गरेका हुन् ।
प्रदेशसभामा सम्बोधन गर्दै शाहले बजेट निर्माणको विषयलाई लिएर आफूविरुद्ध राजनीतिक तथा व्यक्तिगत आरोप लगाइएको बताएका छन् । सरकारको साझेदार भएर बजेट निर्माणका हरेक चरणमा सहभागी भएको एमालेले पछि आफ्नै सहभागितामा बनेको बजेटविरुद्ध खर्च कटौतीको प्रस्ताव ल्याएर अस्थिरता निम्त्याएको आरोप मुख्यमन्त्री शाहको थियो । ‘आफैंले ल्याएको बजेटमा संशोधन प्रस्ताव ल्याउनु भनेको सुदूरपश्चिमका भोका पेटहरू माथिको प्रहार हो ।” उनके भने, “प्रदेशलाई अस्थिरतातर्फ धकेल्ने खेल थियो । जुन खेलमा खेलाडी सफल भएका छन् ।”
बजेटको विषयमा विवाद बढेपछि सुदूरपश्चिम प्रदेश नयाँ आर्थिक वर्ष सुरु हुँदासमेत बजेटविहीन अवस्थामा पुगेको थियो । प्रदेश सरकारले राजश्व सङ्कलन गर्न पाए पनि बजेट पारित नहुँदा खर्च गर्ने कानुनी आधार नहुँदा विकास निर्माणदेखि नियमित कार्यक्रमसमेत प्रभावित भएका थिए ।
अब मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेबीच प्रदेश सरकार गठनका लागि सहकार्य भएको छ । सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ। शाहले राजीनामा दिएसँगै प्रदेशको लामो समयदेखिको राजनीतिक अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ । तर नयाँ सरकार गठनसँगै बजेट शून्यता अन्त्य गरी प्रदेशसभाबाट नयाँ बजेट पारित गराउनु भने नयाँ सरकारका लागि प्रमुख चुनौती बन्नेछ ।










