शेयेर गर्नुहोस
टीकापुर ०१ फागुन /
नेपाली कम्युनिस्ट पार्टीले ३१ औं जनयुद्ध दिवस शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।
त्यसैअनुसार कैलाली क्षेत्र नं. १ मा पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न कार्यक्रमको आयोजना गरेर जनयुद्ध दिवस मनाएको छ । त्यसैअनुरूप पार्टीले टीकापुर अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको थियो । अस्पतालका बिरामीलाई फलफुल वितरण कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हरि ज्ञवालीले जनयुद्धकै जगमा देश लोकतान्त्रिक गणतन्त्र हुँदै आजको दिनसम्म आइपुगेको बताएका छन् । उनले देशको जहानिया राजतन्त्रको अन्त्य गर्दै सबै नागरिकहरूको समान हक अधिकारका लागि तत्कालीन नेकपा माओवादीले जनयुद्ध गरेको स्मरण गरे ।
त्यसैगरी पार्टीले जनयुद्ध दिवसकै दिन रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुजी सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरिएको पार्टीका टीकापुर नगर कमिटी अध्यक्ष धनसिंह साउँदले जानकारी दिएका छन् । उनका अनुसार रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता तथा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामलाल डगौरा थारुले पछिल्लो समयममा टीकापुरमा रगतको अभाव देखिएको उल्लेख गर्दै आफू नगरपालिकाको नेतृत्वमा हुँदा टीकापुर भित्रका नागरिकहरुलाई निशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको बताउँदै त्यसको क्षेत्र विस्तार गर्दै कैलाली क्षेत्र नं. १ मा पुर्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै थारुले जनताको भावनाअनुरूप नीति निर्माण तहदेखि ग्रामीण तहसम्म काम गर्ने वातावरण सिर्जना गरेर नतिजामुखी काम गर्न प्रतिनिधि सभाको निर्वाचनमा तारामा मतदान गर्न अपिल गरे ।
जनयुद्ध दिवसकै अवसरमा पार्टीले जनयुद्धका क्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्मान समेत गरेको छ । कैलाली निर्वाचन क्षेत्र नं. १ को टीकापुर स्थित सम्पर्क कार्यालयमा उक्त कार्यक्रम भएको थियो ।










