सरुवा रोग अनुसन्धान केन्द्रको शिलान्यास

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १३ फागुन/
कैलालीको टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्रको भवनको शुक्रबार शिलान्यास गरिएको छ ।
सुदुरपश्चिम प्रदेशको लागतमा निर्माण हुनलागेको सरुवा रोग अनुसन्धान केन्द्रको भवनको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख रावलले पछिल्लो समय विभिन्न खालका सरुवा रोगहरुको संक्रमण बढ्दै गएको अवस्थामा सरुवा रोग अनुसन्धान केन्द्रको भुमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । “यो आयोजनालाई हामिले गौरवको आयोजनाको रुपम लिनुपर्छ । स्वस्थ्य क्षेत्रमा टीकापुर धेरै अगाडि बढेको छ । त्यसमा पनि सुदुरपश्चिम प्रदेशको लगानीमा निर्माण हुने यो अनुसन्धान केन्द्रले थुप्रै सम्भावनाहरुलाई बोकेको छ ।” नगर प्रमुख रावलले भन्नुभयो, “यस्ता कार्यमा नगरपालिकाको पनि सधै साथ र सहयोग रहने छ र निर्माणको काम समयमै सम्पन्न गर्नमा कुनै समस्या आएको खण्डमा पनि नगरपालिकाले समन्वय गर्ने छ ।”
प्रदेश सरकारको चार करोडको लागतमा सुरु भएको सरुवा रोग अनुसन्धान केन्द्रलाई प्रदेश सरकारले बहुवर्षिय आयोजनाको रुपमा लिएको टीकापुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष दिपक रावलले बताउनुभएको छ । उहाँले अनुसन्धान केन्द्रको स्थापनाका लागि १६ करोड बजेटको आवश्यक रहने बताउँदै सरुवा रोग अनुसन्धान केन्द्रको स्थापनाले टीकापुर अस्पतालको क्षमता वृद्धिमा समेत टेवा पुग्ने बताउनुभएको छ ।
प्रदेश सरकारले गत आर्थिक वर्षमा पनि केन्दका लागि दुई करोड बजेट विनियोजन गरेको थियो । कोरोनाको संक्रमणका कारण आयोजनाको काम अगाडि बढ्न नसकेपछि त्यसलाई क्रमागतमा राखेर चालू आर्थिक वर्षमा पुनः दुई करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको थियो । अहिले भवनको पहिलो तलासम्मको काम हुने छ । निर्माणको जिम्मा रोयल पवन जेभीले पाएको छ । भवनको पहिलो तलासम्मको काम चालू आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *