सेवा प्रवाह प्रविधिमैत्री बनाउन अस्ट्रेलियन राजदुत भल्कको जोड

शेयेर गर्नुहोस


टीकापुर २८ मंसिर /
नेपालका लागि अस्ट्रेलियन राजदुत फेलोसिटी भल्कले स्थानीय सरकारले नयाँ प्रविधिहरुको प्रयोगबाट नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।
मंगलबार टीकापुर नगरपालिकाका जनप्रतिनिधिहरुसँगको साक्षात्कार कार्यक्रममा राजदुत भल्कले नागरिकहरूलाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने कुरामा जोड दिएकी हुन् । ‘नेपालका कतिपय नगरपालिकाहरुले नयाँ प्रविधिहरुको प्रयोग गरेर सेवा प्रवाह गरिरहेका रहेछन् । त्यसलाई टीकापुर नगरपालिकाले पनि कार्यान्वयनमा ल्याउनु पर्छ ।” भल्कले भनिन्, ‘प्रविधिमैत्री सेवाले नागरिकलाई सेवा लिन निकै सहज हुने हुँदा प्रविधिमा जोड दिनुपर्छ । जसका कारण सुशासन र काम प्रतिको प्रभावकारिताले पनि प्राथमिकता पाउँछ ।”
उनले नगरपालिकाको नेतृत्व सबै वर्ग र समुदायलाई प्रतिनिधित्व गर्दै विकास निर्माणका काममा महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने जिम्मेवारी भएको बताउँदै सबैसँग सहकार्य गरेर अगाडि बढ्ब आग्रह समेत गरेकी छन् । ‘व्यक्तिगत रुपमा हामी सबैका आफ्ना संस्कार, चालचलन हुनसक्छन् तर नेतृत्वले ती सबैलाई समान किसिमले अगाडि बढाउनु पर्छ ।” उनले भनिन्, ‘समावेशितालाई समेत ध्यान दिएर काम गर्नुपर्छ ।”
कार्यक्रममा बोल्दै नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुर नगरपालिकालाई अस्टे्रलियन एड, द एसिया फाउण्डेशन लगायतका संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको बताउँदै आफूहरु नगरको वृहत् योजना अनुसार नै काम गरिरहेको बताएका छन् । ‘हामी यहाँहरुकै सहयोगमा निर्माण भएको नगर वृहत् योजना अनुसार नै काम गरिरहेका छौं । जुन योजनाले हामीलाई काम गर्न सहज पनि भएको छ ।” नगर प्रमुख थारुले भने ‘आगामी दिनमा समेत यहाँहरुको सहयोगको अपेक्षा गरेका छौं ।” अस्ट्रेलियन सरकारका तर्फबाट टीकापुर नगरपालिकालाई विगत पाँच वर्षदेखि नगर पाश्र्वचित्र, बृहत् योजना, आर्थिक विकास रणनीति लगायतमा सहयोग गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख खड्कबहादुर शाहले द एसिया फाउण्डेशनको सहयोगमा नगरको समुचित विकासका लागि टोल विकास समितिसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत मंगलबहादुर शाहीले नगरपालिकामा सञ्चालन भइरहेका कार्यक्रम, नगरका मुख्य चुनौति लगायतका विषयमा जानकारी गराएका थिए ।
यसैबीच राजदूत भल्कसहित माइती नेपालको टोलीले सीमावर्ती खक्रौलामा रहेको माइती नेपालको सीमा कार्यालयको निरीक्षण समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *