होटल व्यवसायीको स्वागत तथा शुभकामना आदानप्रदान

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर ०४ बैशाख /
कैलाली होटल व्यवसायी संघ टीकापुरको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कैलाली होटल व्यवसायी संघ टीकापुरका अध्यक्ष खेमराज सिंह कुँवरको अध्यक्षतामा भएको स्वागत तथा शुभकामना कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिकाका वडा अध्यक्ष गंगाराम आचार्यले टीकापुरमा शान्ति सुरक्षाको विषयमा बाहिर फैलिएको भ्रमलाई चिर्न आवश्यक रहेको छ । “हामी खुला सिमानामा छौं । त्यसले पनि सुरक्षामा चुनौती थपिएको छ । त्यसलाई पुरानै अवस्थामा ल्याउनको लागि एउटा प्रहरीले मात्रै नभई सबैको समन्वय र सहकार्य आवश्यक छ ।” आचार्यले भने, “निर्वाचनको समय निजिकिँदै गर्दा पनि सुरक्षाको चुनौती झन थपिन सक्छ । त्यसलाई मध्यनजर गर्नुपर्ने अवस्था छ ।”
कार्यक्रममा ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख हेमबहादुर शाहीले आफू स्थानिय भएको नाताले टीकापुरका लागि सकेसम्म राम्रो गर्ने छु । “जसरी पनि टीकापुरको शान्ती सुरक्षालाई सुधार गर्ने प्रण ब्याक्त गर्दछु । जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ ।” शाहीले भने, “विकास हुँदै गर्दा सुरक्षाका चुनौती थपिँदै गएका हुन्छन् । त्यस्ता चुनौतीलाई समाधान गर्न प्रहरी प्रतिबद्ध छ ।” उनले व्यावसायिक रुपमा प्रशासनले सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै विगतको टीकापुर र अहिलेको टीकापुरलाई केलाउँदा टीकापुर प्रती हेर्ने दृष्टिकोण निकै फरक भएको बताएका छन् ।
लागुऔषधको अवस्था निकै जरजर रहेको बताउँदै त्यसलाई निरुत्साहित गर्न निकै गम्भीर भएको बताउँदै त्यसमा सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । “टीकापुर मेरो पनि हो । म स्थानीय भएकोले पनि मलाई अरुको भन्दा बढी जिम्मेवारी छ । म राम्रो गर्नकै लागि टीकापुर आएको हुँ ।” शाहीले भने, “कसैको ब्याक्तिगत अपेक्षालाई पूरा गर्न नसकुला त्यो अपेक्षा पूरा गर्न नसक्दा त्यतिबेला सबैले मलाई त्यहीँअनुसार बुझ्नुहोला ।”
होटल व्यवसायी महासंघका केन्द्रिय महासचिव बिरमञ्जन बटालाले ईलाका प्रहरी कार्यालयसँग नयाँ कार्यालय प्रमुख आउँदा यस्तै स्वागत कार्यक्रमको आयोजना गर्दै आएको बताएका छन् । उनले नेपालमा होटल व्यवसायीहरुले होटल क्षेत्रमा २० अर्ब लगानी गरिसकेको बताउँदै वार्षिक रुपमा रोजगारीका लागि मात्रै ६ करोड खर्च हुने गरेको बताएका छन् । उनले नेपालमा यत्रो लगानी हुँदा पनि सरकारले कुनै राहत नपाएको बताउँदै अहिले ३० प्रतिशत व्यवसायीहरु विस्थापित भैसकेको बताएका छन् । उनले होटल व्यवसायीहरुलाई प्रहरी प्रशासनबाट नतर्साउन आग्रह समेत गरेका छन् । व्यवसायलाई धरापमा पार्ने गरी कडाई नगर्न आग्रह गरेका छन् ।
कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले कसैले खाएको जुठो भाडा माझेर गर्दै आएको व्यापारलाई सहज रुपमा अझै लिन नसकिएको बताएका छन् । प्रशासनले पनि व्यवसायीहरुलाई सहज हुनेगरी बाताबरण सिर्जना गरिदिनुपर्ने बताउँदै कोरोनाको संक्रमणका कारण होटल व्यवसायीहरु निकै मार परेको अध्यक्ष भण्डारीले बताएका छन् । कार्यक्रममा सिद्धार्थ होटल टीकापुरमा म्यानेजर छत्र बोगटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको स्वागत संघका उपाध्यक्ष रेबन्त साउँदले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव तेज बोहराले गरेका थिए । कार्यक्रममा कोरोनाका कारण होटल व्यवसायीहरु नराम्रोसँग थला परेको बताउँदै टीकापुरको बाताबरण सहज बनाइदिनको लागि प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *