शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर १९ भदौ /
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ शिविरमा बस्दै आउनुभएकी सावित्रा विकले एउटा गैरसरकारी संस्थाले वाणिज्य बैंकमा खाता खोल्न भनेको कुरा थाहा भयो । उहाँ हतारहतार लम्कीमा रहेको वाणिज्य बैंकमा पुगेर खाता खोल्नुभयो । “केका लागी खाता खोल्न भनेका हुन थाहा छैन । अरुसँगै लागेर मैले पनि खाता खोलेकी हु ।” सावित्राले भन्नुभयो, “हामीजस्ता खान लगाउन नपुगेका गरिबहरुलाई संस्थाले खाता खोलेपछि राहत दिने भन्ने हल्लाकै पछाडि लागेर मैले पनि खाता खोल्न गएकी हु ।”
एकतापुर शिविरकी नामकी कामीले पनि गाउँमा हल्ला सुन्नुभयो । बैंकमा खाता खोलेपछि ५० हजार पाउने भएपछि गाउँमै गाडी भाडाका लागि सापटी मागेर लम्की पुगेर खाता खोल्न पुग्नुभयो । “मसँग गाडी भाडकालागी पैसा पनि थिएन । गाउँबाट सापटी लिएर म पनि खाता खोल्न पुगेकी हु ।” नामकीले भन्नुभयो, “हल्लै हल्लामा लागेर खाता त खोले । कस्ले खाता खोल्न लगाएको हो । पैसा आउने होकि होइन त्यो मलाई थाहा छैन ।”
दैनिक टीकापुरबाट दुई सयभन्दा बढी स्थानीय बैंक खाता खोल्नको लागि १४ किलोमीटरको बसको यात्रा गरि लम्की पुग्ने गरेका छन् । हालसम्म एक हजार भन्दा बढीले खाता समेत खोलिसकेका छन् ।
सोही शिविरका अगुवा चेतराज कुँवरले प्रयास नेपाल नामक संस्थाका कर्मचारीहरुले शिविरमा फैलाएको अफवाहका कारण नागरिकहरुमा ठुलो भ्रम सिर्जना भएको बताउनुभएको छ । “शिविरमा बस्ने सबै न्यून वर्गका गरिब र दैनिक ज्यालादारी गरेर घरगुजारा चलाउने परिवारहरु बस्छन् । उनीहरुका लागि सानो सहयोग पनि ठूलो हुन्छ ।” कुँवरले भन्नुभयो, “यहाँत ५० हजार पाइने हल्ला फैलिएपछी को खोल्दैन बैंक खाता ? ” कुँवरले स्थानियहरु ॠण लिएर पनि खाता खोल्न बैंक जाने गरेको बताउँदै त्यसको वास्तविक छानबिन नभए अधिकांशले दुख पाउने बताउनुभयो ।
युएनडिपीको सहयोगमा प्रयास नेपाल नामक संस्थाले शिविरहरुमा रहेका अति संकटासन्न अवस्थामा रहेका नागरिकहरूलाई छनोटको आधारमा नगद सहयोगका लागि खाता खोल्न भनिएको भएपनि अधिकांशले खाता खोल्न बैंकमा जान थालेपछि बैंकमा पनि भिक्स्क्सड थेग्न चुनौती भएको वाणिज्य बैंक लम्कीका शाखा प्रमुख गोविन्ददेव भट्टले बताउनुभएको छ । “दैनिक एक सयभन्दा बढी खाता खोल्न आउँनुहुन्छ ।” भट्टले भन्नुभयो, “संस्थाले पैसा दिन्छ भन्ने उद्देश्यले सबै खाता खोल्न आएका देखिन्छन । बैंकमा भिडभाड भने थेग्नै मुस्किल हुने गर्छ ।” उहाँले बैंकमा खाता खोल्नु राम्रो पक्ष भएको बताउँदै समुदायस्तरमा फैलिएको भ्रमले समस्या गरेको बताउनुभयो ।
प्रयास नेपालका धर्मराज बजगाईले युएनडिपीको सहकार्यमा केही वर्ष पहिले थ्रेस नेपाल नामक संस्थाले शिविरका अति संकटासन्न घरधुरीको तथ्यांक संकलन गरेको बताउँदै त्यसबाट छनोट भएका परिवारलाई मात्रै खाता खोल्नको लागि आफुहरुले आव्हान गरेको बताउनुभएको छ । “हामिले जानकी गाउँपालिका, टीकापुर र लम्की चुहा नगरपालिकामा काम गर्दै आएका छौ । तीन पालिकाबाट ७ सय ५० घरधुरी छनोटमा परेका छन् । टीकापुरबाट एक सय जति छनोट भएका छन् ।” बजगाईले भन्नुभयो, “सबैलाई हामिले सहयोग गर्ने होइन । छनोटमा परेकाहरुलाई मात्रै खाता मार्फत आर्थिक सहयोग गर्न लागिएको हो ।”