शिक्षक सरुवाको निर्णय प्रधानाध्यापकले नमान्ने

शेयेर गर्नुहोस


भजनी ११ वैशाख /
भजनी नगरपालिकामा यस शैक्षिकसत्रबाट नगरपालिका भित्र शिक्षक सरुवा तथा बिधालय समायोजन गर्ने योजना अलपत्र पर्ने सम्भावना बढेको छ ।
केही दिन अगाडि नगरपालिकाको शिक्षा समितिले शिक्षक सरुवाको ड्राफ्ट तयार पारेर कार्यपालिका पठाउने निर्णय गरेको भए पनि उक्त निर्णयलाई स्वीकार गर्ने भन्दै शिक्षकहरुले भनेपछि नगरपालिकाले शिक्षक सरुवाको योजना अलपत्र पर्ने सम्भावना बढेको हो । नगरपालिका भित्रका सामुदायिक बिधालयका प्रधानाध्यापकहरुको संयुक्त बैठकले नगरपालिकाले गर्ने सरुवा कसैले रमाना नबुझ्ने निर्णय गरिएको छ ।
प्रधानाध्यापकहरुको संयुक्त बैठकले सरुवा गर्ने सन्दर्भमा सबै शिक्षकको सरुवा भएपछि मात्रै रमाना बुझ्ने नत्र विभेदपुर्ण नगरपालिकाको निर्णय नमान्ने चेतावनी दिएको छ । प्रधानाध्यापकको संयुक्त बैठकको संयोजकत्व गर्दै आएका केदारेश्वर आधारभूत बिधालयका प्रधानाध्यापक पदमबहादुर शाहीले नगरपालिकाले गर्ने व्यवहार सबै शिक्षकलाई समान हुनुपर्ने उल्लेख गर्दै आफुहरु नगरपालिकाले खटाएको बिधालयमा जान तयार रहेको बताएका छन् ।
“हाम्रो भनाइ सरुवा गर्ने भए कि सबैको हुनुपर्यो, नभए कार्यसम्पादन मुल्यांकनका आधारमा गर्दा पनि राम्रो हुन्थ्यो ।” प्रधानाध्यापक शाहीले भने, “कसैलाई सरुवा गर्ने कसैलाई पहिलेकै बिधालयमा थमौती गर्दा शिक्षकहरुको मनोबल झन कमजोर हुनसक्छ ।” उनले स्थानीय सरकारले शिक्षक दरबन्दी मिलानसम्मको काम गर्ने अधिकार भए पनि शिक्षक सरुवा नै भनेर गर्न नमिल्ने बताए । प्राथमिक तहका शिक्षकहरुलाई मात्रै नभई आवश्यकताका आधारमा माथिल्लो तहका शिक्षहरुको व्यवस्थापन पनि जरुरी रहेको उनको भनाई छ ।
नगरपालिकामा शिक्षक सरुवाको नाममा ठूलो राजनीति भैरहेको शिक्षकहरुको भनाइ छ । उनीहरू नीति सम्मत भए नगरपालिकाले खटाएको स्थानमा जान तयार रहेको बताउँछन् । शिक्षक सरुवाको विषयले बिधालयको अवस्था झन लथालिङ्ग भएको छ । वैशाख १५ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्नुपर्ने भए पनि बिधालयले त्यसको तयारी गर्न सकेका छैनन । आफुहरु कहाँ जानपर्ने हो भन्ने अन्योल हुँदा शिक्षकहरुले बिधालयको कुनै काम अगाडि बढाएका छैनन ।
उता नगरपालिका जसरी पनि शिक्षकहरुको सरुवा गर्ने मनस्थितिमा पुगेको छ । शिक्षा समितिले गरेको निर्णयलाई कार्यपालिकाबाट पास गराएर यथाशीघ्र कार्यान्वयनमा लैजाने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट बताउँछन् । नगरपालिकाले यसवर्ष केहि बिधालय समायोजन पनि गरेको छ । स्रोतका अनुसार नगरपालिकाले १२ वटा बिधालय समायोजन प्रक्रियामा लिएको छ । नगरपालिका बर्सेनि शैक्षिक गुणस्तरमा निकै कम्जोर बन्दै गएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *