शेयेर गर्नुहोस
टीकापुर ११ वैशाख /
टीकापुर नगरपालिकाले १४ गते सोमबारदेखि सार्वजनिक स्थान खाली गराउने भएको छ ।
यसभन्दा पहिले नगरपालिकाले १५ दिने सुचना जारी गर्दै सार्वजनिक स्थानमा बनाइएका घर, टहरा, ठेला लगायतका संरचना खाली गर्न आग्रह गरेको थियो । त्यसको समय ११ गते सकिएपछि सोमबारबाट नगरपालिकाले अतिक्रमित जग्गा खाली गराएर बजार क्षेत्रको सौन्दर्यता बढाउन तर्फ ध्यान दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिएका छन् ।
नगरपालिकाले पहिलो चरणमा सार्वजनिक जग्गालाई खाली गराउने छ । दोस्रो चरणमा व्यक्तिको घरसँग जोडेर सार्वजनिक जग्गालाई छोएका संरचनाको नापजाँच गरेर हटाउने अधिकृत धितालले बताएका छन् । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काले पनि सार्वजनिक स्थान ओगटेर बसेकालाई खाली गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिको जग्गासँग जोडिएको सार्वजनिक जग्गाको विषयमा नापजाँच गरेर केही समयपछि खाली गर्ने गरी सहमति भएको बताएका छन् ।
बजार क्षेत्रमा जथाभावी राखिएका खोका, ठेला तथा अन्य संरचना सोमबार भन्दा पहिले व्यवस्थित गरिसक्न नगरपालिकाले पुनः आग्रह गरेको छ । सोमबारबाट त्यसा संरचना बल प्रयोग गरेरै भए पनि हटाउने र त्यसबाट कुनै क्षति भए त्यसको जिम्मेवार स्वयंम व्यक्ति वा फर्म हुने नगरपालिकाले बताएको छ ।









