तीन अस्पताल एक सय शय्यामा स्तरोन्नति हुने

शेयेर गर्नुहोस


टीकापुर १९ जेठ/
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका तीन प्रादेशिक अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको छ ।
प्रदेश सरकार मातहत रहेका धनगढीमा रहेको सेती, कञ्चनपुरमा रहेको महाकाली र टीकापुर अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको हो । हाल टीकापुर अस्पताल ५१ शय्यामा सञ्चालन भैरहेको छ भने सेती र महाकाली ५० शय्यामा सञ्चालन हुँदै आएको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले यस्तो जानकारी दिएका हुन् । त्यसैगरी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छ पहाडी जिल्लामा रहेका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रदेशको नीति तथा कार्यक्रममा सुदूरपश्चिममा गरिबी दर बढी भएका पालिकामा गरिबी न्यूनीकरण कार्यक्रम चलाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख मियाँले अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा बैतडीको सिगास र शिवनाथ गाउँपालिकामा लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याउन सघन रुपमा कार्यक्रम सञ्चालन गरिने भएको हो । 
शिक्षा, स्वास्थ्य र पोषणसंग जोडेर ती पालिकामा गरिबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
त्यसैगरी सुदूरपश्चिम सरकारले प्रदेश गौरवका आयोजनाको निर्माण आगामी वर्षभित्र सम्पन्न गर्ने नीति लिएको छ । प्रदेश गौरवका आयोजनाको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट विनियोजन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *