शेयेर गर्नुहोस
लक्ष्मण विक
टीकापुर २८ जेठ /
भारतसँग खुल्ला सिमानाका कारण टीकापुर लगायतका सीमावर्ती क्षेत्रमा लागुऔषध दुर्व्यसनको उच्च जोखिममा छ ।
प्रहरीको तथ्यांक हेर्दा पनि हरेक दिन लागुऔषधको घटनामा युवाहरू पक्राउ परिरहेका छन् । विशेषगरी १६ वर्षदेखि २२ वर्षसम्मका युवाहरू लागुऔषधको लतमा फस्दा त्यसलाई न्यूनीकरण गर्दै लागुऔषधको लतबाट युवाहरूलाई छुटकारा दिलाउनका लागि टीकापुरमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । युवाहरू लागुऔषधमा फस्दै जानुको पछाडि अभिभावकको निगरानी कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै अभिभावकलाई सचेत गराउन टीकापुर नगरपालिका र टीकापुर नगरपालिका वडा नं. १ को फरकफरक आयोजनामा कार्यक्रम गरिएको हो ।
अभिभावकलाई लक्षित गरेर तयार पारिएको नाटकले अभिभावकलाई आफ्नो बालबालिका प्रतिको बेवास्ताका कारण लागुऔषध लगायतका आपराधिक क्रियाकलापमा सक्रिय हुने गरेको कुरालाई चित्रण गरिएको छ । बालबालिका वर्तमानमा काचो माटो जस्तै हुने हुँदा उसलाई कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावकको काँधमा हुने गरेको नाटकले बोलेको छ । “अभिभावकले दिने अस्वभाविक माया अनि माया भित्रको बेवास्ताले आफ्नो बालबालिका कतिबेला बिग्रन्छ थाहै हुँदैन ।” नाटकका लेखक झलनाथ खनाल भन्छन्, “थाहा त्यो वास्ता त्यो बेला हुन्छ, जुन बेला बालबालिकालाई त्यो गलत बाटोबाट सहि बाटोमा ल्याउन कठिन भैसकेको हुन्छ ।”
उनका अनुसार कैलाली जिल्लामै फरक शैलीमा प्रदर्शन गरिएको नाटकले दर्शकलाई आफ्नो बालबालिका प्रती सोच्न बाध्य बताएको छ । “नाटक हेर्ने अधिकांश दर्शकलाई भावविह्वलसँगै आत्मसमिक्षा गर्न बाध्य बनाएको छ । हरेक आमाको आँखाबाट त्यो पिडाको आशु खसेको छ ।” खनाल भन्छन्, “अभिभावकले महसुस पनि गरेका छन्, बालबालिकालाई दोष दिएर अभिभावकले छुट पाउँदैनन् भन्ने कुरा ।”
टीकापुर नगरपालिका वडा नं.१ एकतानगर शिविरकी माया विकले समाजको यथार्थ घटनालाई नाटकमा चित्रण गर्दै गरिएको प्रस्तुतिले हरेक आमाबुवालाई छोराछोरी प्रती सोच्न बाध्य बनाएको बताएकी छन् । “छोराछोरी प्रती आमाबावालाई अनेकन चिन्ता त्यसै पनि हुन्छ । पछिल्लो समय बढ्दै गएको लागुऔषध दुर्व्यसनको जोखिमबाट छोराछोरीलाई जोगाउन ठूलो चुनौती छ ।” उनले भनिन्,”समयमा छोराछोरी प्रती ध्यान नदिँदा आमाबुवाले पाउने पिडा, त्यसपछिका कठिन दिन निकै कठिनपुर्ण हुने कुरा नाटकले प्रस्तुत गर्दा समाजमा अभिभावकलाई राम्रो सन्देश पुगेको छ ।”
टीकापुर नगरपालिका भित्रका ३० स्थानमा प्रदर्शन भएको सडक नाटकले बालबालिका कुलत लगायत आपराधिक गतिविधिमा संलग्न हुनुको दोषी अभिभावक भएको पुष्टि गरेको छ । आफ्नो बालबालिकाले गरेको गल्ती अभिभावकले सहजै स्विकार गर्न नसकेपछिको अवस्थालाई नाटकले बोलेको छ । नाटक हेरेपछि अधिकांश अभिभावकले आगमी दिनमा आफ्नो बालबालिका प्रती जिम्मेवार अभिभावकको भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
टीकापुर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मोहन विकले नगरपालिकाले यसभन्दा पहिले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि थुप्रै कार्यक्रम सञ्चालन गरे पनि त्यसबाट प्रभावकारिता हासिल हुन नसकेको बताउँदै यसपटक अभिभावकलाई मध्यनजर गर्दै सन्देशमुलक नाटक प्रदर्शन गरिएको बताएका छन् । “अभिभावक बालबालिका प्रती जिम्मेवार नहुँदा आउने पुस्ता निकै जोखिममा पर्दै गएको छ । त्यसलाई त्यो जोखिमबाट छुटकारा दिन अभिभावक सचेत हुनुपर्ने नाटकले पनि बोलेको छ ।” उनले भने, “सम्पत्ति भनेकै छोराछोरी हो र छोराछोरीको भविष्य अन्योलमा हुँदा भौतिक सम्पत्तिले केही नहुने सन्देश नाटकबाट अभिभावकले पाएका छन् ।”
सडक नाटकले सामाजिक सञ्जालमा पनि राम्रो साथ पएको छ । सिर्जनशील युवा समाज नेपालको प्रस्तुति रहेको उक्त नाटक सामाजिक सञ्जालमा समेत पोष्ट गरिने सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् । नाटक १९ गतेदेखि २७ गतेसम्म प्रदर्शनमा आएको थियो ।









