शेयेर गर्नुहोस
टीकापुर १५ वैशाख /
सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना तथा चोरीपैठारी नियन्त्रण लगायत सीमाका समस्या समाधानका लागि छलफल भएको छ ।
प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, प्रदेश सभा सदस्यद्धय लक्ष्मणकिशोर चौधरी, ललिता सुनार र टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीसमक्ष भन्सार प्रति गम्भीर बन्न स्थानीयले माग गरेका छन् । टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरका उमेश साउँदले खाद्य क्वारेन्टाइन नभएकाले सीमा नजिक भएका नागरिकले भारतबाट भन्सार तिरेर पनि आलु, प्याज लगायतका खाद्यान्न ल्याउन नपाएको दुखेसो व्यक्त गरेका छन् ।
टीकापुर उद्योग वाणिज्य संघ टीकापुरका सचिव प्रकाश शाहले तीनै तहका सरकारले भन्सार विकासमा चासो देखाउनु सकारात्मक भएको उल्लेख गरेका छन् । वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले मोहना नदीको पुल पारी केही जमीन दशजगा क्षेत्रमा परेकाले भारततर्फ जाने पुलपारीको १ किलोमिटर बाटो निर्माण भइरहेका ठाउँमा ३ सय मिटर बाटो बन्न नसकेको बताएका छन् ।
उनलेनदी नियन्त्रणका लागि प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा एक करोड बजेट भएकाले नदी किनारमा तटबन्ध र नेपाली भूमिभित्रै पुल पारी आफ्नै जमीनमा बाटो निर्माणका लागि केही दिन अघि डेलिगेशन गएका र हुलाकी सडकसँग समन्वय गरेर बाटो बनाइदिन आग्रह गरेका छन् । वडाध्यक्ष ठकुल्लाले सशस्त्र द्वन्द्वका बेला सत्तीबाट विस्थापित भएको पशु क्वारेन्टाइन अहिलेसम्म पुनस्थापना नभएकाले यहाँका ब्यापारीले समस्या झेल्दै आएकाले यसतर्फ समेत ध्यान दिन अनुरोध गरे ।
सत्ती भन्सार कार्यालयका प्रमुख चक्र बहादुर सोनीले सरकारको निर्देशन अनुसार भन्सारमा कडाइ गरिएको बताउँदै पशु, खाद्य तथा प्लान्ट क्वारेन्टाइन भएमा राजश्व संकलनमा समेत वृद्धि हुने बताएका छन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश डाँगीले लागूऔषध नियन्त्रणमा प्रहरीले भन्सारमा निकै कडाई गरेको बताउँदै प्रहरीले पक्राउ गर्ने ब्यक्तिमा अधिकाँश लागू औषध प्रयोगकर्ता तथा बिक्रेता रहेका बताए ।
सीमामा रहेको विओपी कार्यालयका सशस्त्र प्रहरी प्रमुख देवराज विष्टले आफूहरुले सीमामा कडाइ गरिरहेको, अवैध सामान, लागूऔषध सबैमा कडाई गरिएको बताएका छन् ।
टीकापुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले भन्सारलाई व्यवस्थित बनाउन आवश्यक कार्यालय र पूर्वाधार निर्माणमा सघाउन संघ र प्रदेश सरकारसँग अनुरोध गरे । प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले स्थानीयका माग लिएर संसदमा आवाज उठाउने, क्वारेन्टाइन स्थापनाका लागि बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताएकी छन् ।










