खानेपानीको दशौं वार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर ०७ भदौ /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर दशौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष खड्ग धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर विकास कोष अन्तरगत खानेपानी तथा सरसफाइ महासंघ शाखाका प्रमुख सुभाष राज पन्तले खानेपानीको महशुल बढाउनु, पाइप लाइन र उपभोक्ता विस्तार गर्नु मात्र ठूलो कुरा नभई उनीहरुलाई निरन्तर स्वच्छ खानेपानी खुवाउने कुरामा ध्यान दिन सुझाव दिए ।
प्रमुख पन्तले टीकापुरमा खानेपानीको बिस्तारसँगै ढल निकासको पनि काम भैरहेकाले अवका दिनमा पनि यहाँका नागरिक तयार भएपछि नगर विकास कोषले एक अर्ब बराबरको ढल निर्माण गर्न तयार रहेको बताउँदै त्यसका लागि खानेपानीको कार्यसमिति काम गर्न तयार हुनुपर्ने बताए ।
कार्यक्रममा टीकापुर खानेपानी संस्थाका संस्थापक अध्यक्ष नवराज रावलले राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेलाई नराम्रो भन्न सक्नु पर्ने बताउँदै संस्थाको किचलोलाई संस्थामै समाधान गर्न सक्नु पर्ने बताएका छन् । उनले टीकापुरका थुप्रै संस्थामा व्यक्तिले शासन गरेरका कारण टीकापुरका संस्था भद्रगोलका अवस्थामा रहेको बताएका छन् । टीकापुर खानेपानी संस्था २२ महिनामै काम सम्पन्न भएको संस्था भएको बताउँदै बिगतका दिनमा संस्था संचालनका निमित्त निकै कठिनाई भोग्नु परेको रावलले बताए ।
कार्यक्रममा अध्यक्ष खड्ग धामीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा चार लाख ५० हजार लिटर क्षमताका तीन वटा र दुई लाख २५ हजार लिटर क्षमताको एउटा ट्रयाङ्की गरि कुल १५ लाख ७५ हजार लिटर क्षमताका चार वटा ओभर हेड ट्रयाङ्की रहेको बताएका छन् । उनले खानेपानी वितरण प्रणालीअन्तरगत १४ किलोमीटर डी.आई. समेत गरि जम्मा दुई सय ९० किलोमीटर पि.ई. पाइपलाईन विस्तार गरि संस्थाको कार्यक्षेत्र खानेपानी सेवा उपलब्ध गराइएको बताएका छन् । संस्थाले हालसम्म वडा नं. १ देखि वडा नं. ५ सम्मका ९ हजार तीन सय १८ घरधुरीका करिब ५५ हजार जनसंख्यालाई खानेपानी मापदण्ड बमोजिम प्रशोधित शुद्ध खानेपानी वितरण गर्दै आएको अध्यक्षले प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।
अध्यक्षले प्रतिवेदन मार्फत संस्थामा अहिलेसम्म पानी प्रशोधन प्रणाली ४ वटा, जेनेरेटर ४ वटा, पानी परीक्षण प्रयोगशाला १, एक सय ३० भल्व च्याम्बर रहेका बताउँदै आयोजना क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा आकस्मिक आगलागी हुँदा दमकलमा पानी भर्न सजिलो होस भन्ने उद्देश्यले १० वटा फायर हाइड्रेन्ट निर्माण गरिएको समेत जानकारी दिएका छन् । उनले आफुहरु निर्वाचित भएर आएपछिको पहिलो वर्षमा केही साँवा व्याज भुक्तानी गरेको जानकारी दिदै जस्मा नगर विकास कोष र संस्था बिचको ऋण सम्झौता अनुसार हाल संस्थालाई १३ करोड ८ लाख ७ हजार तीन सय ५४ रुपैयाँ ८२ पैसा ऋण रहेकोमा नियमित तिर्नुपर्ने साँवा व्याज रकम एक करोड २५ लाख ६५ हजार ८ सय एक रुपैयाँ रहेकोमा संस्थाले दुई करोड रुपैयाँ यस आर्थिक वर्षको अन्तमा नगर विकास कोषलाई भुक्तानी गरेको प्रतिवेदन मार्फत बताएका छन् । यो वर्ष संस्थाले तिर्नुपर्ने साँवा रकम ७४ लाख ३४ हजार एक सय ९९ रुपैयाँ थप घटाउन सफल भएको अध्यक्ष धामीले बताए ।
त्यस्तै उलने गत आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त अनुदान र संस्थाको आन्तरिक आयबाट थप ११ किलोमटिर पाइप लाइन विस्तार गरी ६ सय ४७ घरधुरीमा धारा जडान पनि गरिएको अध्यक्ष धामीले बताए ।
टीकापुरको वडा नं. ३ रामपुरमा निर्माणाधीन खानेपानी संस्था र टीकापुर खानेपानी बिच सहमति भई रामपुर खानेपानीका बाँकी कामहरु दुबै खानेपानी संस्था मिलेर अगाडी बढाउने सहमति भएको बताए ।
साधारण सभामा गत आर्थिक वर्षको चार करोड ८६ लाख ६ हजार ६ सय ६३ रुपैयाँ बराबरको आयव्याय सार्वजनिक गरिएको थियो भने चालु आर्थिक वर्षको ५ करोड ८५ लाख ५० हजार रुपैया बराबरको अनुमानित आयव्याय प्रस्तुत गरिएको छ ।
कार्यक्रममा संस्थाकी निवर्तमान कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डित, राप्रपाका डम्बर शाह, नेकपाका महेश बुढा, एमालेका बलबहादुर विक, नेपाली कांग्रेसका सोमनाथ देवकोटा, संस्थाका सल्लाहकार समिति संयोजक भैरव सिंह रावल, लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष मल्ल सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै संस्थाले उत्कृष्ट कर्मचारी सम्मानमा स्टोर किपर दर्शना शर्मालाई सम्मान गरेको छ ।
संस्थाका सचिव प्रकाश खड्काले सञ्चालन गरेको कार्यक्रमको स्वागत संस्थाकी उपाध्यक्ष सीता चौधरीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *