शेयेर गर्नुहोस
टीकापुर ०३ जेठ /
टीकापुर नगरपालिका वडा नं. १ ले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ ।
वडा नं. १ ले एक विषेश कार्यक्रममा एक सय ५० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ७३ वर्ष माथी उमेर भएका जेष्ठ नागरिकहरूलाई वडा कार्यालयले सुफानेट झुल दिएर सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोहन विकले जेष्ठ नागरिक समाजका अभिभावक भएको उल्लेख गर्दै अभिभावकलाई स्थानीय सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्मको सम्मान गर्दै आएको बताएका छन् ।
“वडा नं. १ मा मात्रै दुई हजार भन्दा बढी जेष्ठ नागरिकहरू हुनुहुन्छ । उहाँहरुलाई एउटै समयमा सम्मान गर्न हाम्रो स्रोतसाधनले भ्याउँदैन ।” उनले भने, “त्यसैले उमेर समुहलाई लक्षित गरेर बर्सेनि जेष्ठ नागरिकहरूलाई सम्मान गर्न थालिएको हो ।” उनले जेष्ठ नागरिकहरूको सम्मानको कार्यक्रम आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष विकले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूको निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको बताउँदै स्वास्थ्य बिमा नभएका जेष्ठ नागरिकहरूलाई नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र ल्याएर वडा कार्यालयमा आउन आग्रह गरेका छ । निशुल्क स्वास्थ्य बिमाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचारका ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य दुर्गा देवकोटाले वडा कार्यालयले सञ्चालन गर्ने हरेक कार्यक्रम जनमुखी र परिणाममुखी भएको उल्लेख गरेकी छन् । उनले जेष्ठ नागरिक सम्मान कार्यक्रमले जेष्ठ नागरिकहरूलाई एक आपसमा दु:ख सुख आदानप्रदान गर्ने अवसरको सिर्जना गरेको बताइन् । वडा सदस्य गणेश घर्तीमगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचीव चक्र बहादुर रावलले गरेका थिए । कार्यक्रमम अन्य वडा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।









