शेयेर गर्नुहोस
टीकापुर १४ साउन /
टीकापुर जेसीजको आतिथ्यतामा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
नेपाल जेसीजको आयोजनामा टीकापुरमा बिहिवारदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले तालिम जीवनलाई प्रभावकारी रुपमा समाजमा रुपान्तरण गर्न तालिम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेकी छन् । उनले जेसीजमा लागेको युवा नै देशको भविष्यसँग जोडिएको प्रमुख जनशक्ति भएको उल्लेख गर्दै तालिमबाट प्राप्त हुने ज्ञानलाई जीवनमा लागू गर्न आग्रह गरिन ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले व्यक्तिमा भएको अहम क्षमतालाई समाजसँग ढाल्न तालिम फलदायी बन्ने विश्वास गर्दै प्रमाणपत्रका लागि मात्रै आएका सहभागीलाई पूरा समय तालिम हलमा बस्नु नपर्ने बताएका छन् । एकताको संकल्प, रुपान्तरणको यात्रालाई जेसीजले निरन्तर जारी राखेको कार्कीले बताएका छन् । उनले बितेको दिनलाई समिक्षा गर्दै आगामी दिनलाई योजनाबद्ध बनाएर समाजका लागि लाग्न सबै शाखा अध्यक्षलाई आग्रह हरेका छन् ।
टीकापुर जेसीजका पुर्व अध्यक्ष नवराज रावलले सिकाइको विश्वविद्यालय जेसीज भएको उल्लेख गर्दै जेसीजलाई त्यसैअनुसार बुझ्न आग्रह गरेका छन् । उनले सुन्दर टीकापुर आएका देशका विभिन्न शाखाका प्रतिनिधिलाई समयानुकूल अवलोकन गर्न पनि आग्रह गरेका छन् । लम्की जेसीजका पुर्व अध्यक्ष तथा पुर्व राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटीले जेसीज बुझाउन समुदायमा अझै समस्या भएको बताउँदै त्यो अनुसारको अभियान आवश्यक रहेको उल्लेख गरे ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसालले अन्तरास्ट्रिय स्तरका प्रशिक्षकहरुबाट प्रदान गरिने तालिम उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्यायले तालिमलाई सफल बनाउनका लागि सिकाइको लागि आएका सहभागीको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
तालिमका प्रमुख प्रशिक्षक विकल सेरचनले जेसीज व्यक्तित्व निर्माणको प्रमुख पाठशाला भएको उल्लेख गर्दै प्रशिक्षक प्रशिक्षण तालीमले दक्ष प्रशिक्षक उत्पादन गर्नुपर्ने बताए । उनले तालिम रुपान्तरणकारी परिवर्तन सहितको हुने विश्वास व्यक्त गरे । लक्ष्य लिएपछि पूरा गर्न सक्नु नै सफलता भएको सेरचनको भनाइ थियो । टीकापुर जेसीजका निवर्तमान अध्यक्ष भरत भण्डारीले सञ्चालन गरेको उद्घाटन कार्यक्रमको स्वागत टीकापुर जेसीज वर्ष २०२६ का अध्यक्ष कमल राज सुवेदीले गरेका थिए । तालिम साउन १७ गतेसम्म सञ्चालन हुने छ ।










