पदाधिकारीका कारण गम्भीर संकटमा खानेपानी

शेयेर गर्नुहोस


टीकापुर १२ असार /
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था गम्भीर संकटमा फसेको छ ।
खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा नयाँ नेतृत्व आएको झण्डै ११ महिनामै संस्था गम्भीर संकटमा फसेको हो । कार्यसमितिका पदाधिकारी बीचको आपसी द्वन्दले संस्था गम्भीर मोडमा पुगेको छ । नगर विकास समितिको ऋणबाट सञ्चालन भएको संस्था उपभोक्ताले विश्वास गरेर चुनाव जिताएर पठाएका पदाधिकारीहरुले उपभोक्ता माथी घात गरेपछि झण्डै साढे ९ हजार उपभोक्तालाई त्यसको प्रत्यक्ष असर परेको छ ।
खासगरी संस्थामा अध्यक्ष, सचीव र कोषाध्यक्ष बीचको अन्तरद्वन्दले संस्थाको भविष्य माथी प्रश्न उठ्न थालेको छ । बिहिवार मात्रै सचीव र अध्यक्षले बोलाएका फरकफरक बैठकले नै संस्था कुन अवस्थामा छ भन्ने कुरा स्पष्ट हुन्छ । सचीव खड्काले बिहिवार बोलाएको बैठकमा ९ जनाको कार्यसमितिका तीन जनाको मात्रै उपस्थिति देखिएको छ । जहाँ सचिब प्रकाश खड्का, बलबहादुर ओली र जाल्पा भट्टराई बैठकमा सहभागी भएका छन् । जुन बैठकको अध्यक्षता खड्ग धामीले गरेको देखिए पनि उपस्थितिमा उनको हस्ताक्षर छैन । हस्ताक्षर गर्ने तीनैजना एमाले निकट हुन ।
सोहि दिन अध्यक्ष खड्ग धामीको अध्यक्षतामा अर्को बैठक बसेको छ । जहाँ ७ जना कार्यसमितिका पदाधिकारीको हस्ताक्षर छ । पहिलो बैठकमा सहभागी नभएका सबै अध्यक्ष धामीले बोलाएको बैठकमा सहभागी छन् भने बमबहादुर ओली दुबै बैठकमा सहभागी देखिन्छन् । अन्य ६ जना भने खानेपानीको चुनावमा पनि गठबन्धन गरेर गएका थिए । धामीको सहभागितामा बसेको बैठकले तीनवटा निर्णय समेत गरेको छ । जसमा विपन्न घरधुरी अनुदान रकम माग गर्ने, नगर विकास कोषको साँवा व्याज वापतको एक करोड भुक्तानी गर्ने र धरौटी रकम फिर्ता गर्ने रहेका छन् ।
पदाधिकारीहरु बीचको विवाद दिनप्रतिदिन सामाजिक सञ्जाल मार्फत प्रस्फुटन हुन थालेपछि संस्थामा कार्यरत कर्मचारीहरुले पनि कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरूले आज (शुक्रवार) संस्थाको सबै सेवा प्रवाह ठप्प पार्ने भनेका छन् । कर्मचारीले सार्वजनिक गरेको बिज्ञाप्तिमा भनिएको छ, “विगत केहि समय यता संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरु बिच व्यक्तिगत तथा राजनितिक प्रतिशोधका कारण बढ्दै गएको विवादले संस्थाको गरिमाको साथै कर्मचारीहरुको भविष्य नै संकटमा रहेको कुरा यहाँहरुलाई अवगत नै छ । जसको फलस्वरुप संस्थाको दैनिक क्रियाकलापहरु लगायत आगामी कार्ययोजना समेत प्रभावित भईरहेको अवगत गराउन चाहान्छौं । केहि सिमित व्यक्तिहरुले संस्थामा कार्यरत कर्मचारीहरु माथी व्यक्तिगत राजनितिक प्रतिशोध राखी आफ्नो व्यक्तिगत स्वार्थ अनुकुल काम नगरेको, फरक राजनितिक आस्था राखेको बहानामा अनेक जुक्ति लगाएर कर्मचारीलाई विभाजित गरी संस्थामा अस्थिरता ल्याई संस्थाको कार्य वातावरण नै धमिल्याई रहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।”
संस्था स्थापना कालदेखि हालसम्म संस्थालाई यस स्थानसम्म ल्याई पुर्याउन अहोरात्र खटेर काम गर्ने कर्मचारीहरुका समस्या, गुनासा तथा मागलाई ओझेलमा पारेर संस्थाका पदाधिकारी तथा सदस्यज्यूहरु आफ्नो व्यक्तिगत, राजनितिक स्वार्थ प्रति केन्द्रित हुनु संस्थाको लागी दुर्भाग्यपूर्ण रहेको कुरा बिज्ञाप्तिमा उल्लेख छ । बिज्ञाप्तिमा अगाडि भनिएको छ, “यस विषम परिस्थितिमा संस्थामा सहज कार्यवातावरण बनाउन पदाधिकारी तथा सदस्यज्यूहरु आ-आफ्नो हठ त्यागेर सहमतिको बाटोमा जानुको विकल्प नरहेको कुरा अनुरोध गर्दछौं । संस्थामा विगत देखि हालसम्म भैरहेको आरोप प्रत्यारोप र प्रतिशोधपूर्ण क्रियाकलापहरुको विरोध र आगामी दिनहरुमा सहमति र सहकार्यको माग गर्दै भोली मिति २०८३/०३/१२ गते खानेपानी सेवा प्रवाह र आकस्मिक मर्मत कार्यबाहेक प्रशासनिक कार्यहरु बन्द गरिने कुरा जानकारी गराउँदछौं । अवस्था सामान्य नभएमा आन्दोलनका थप कार्यक्रमहरु गरिने समेत जानकारी गराउँदछौं ।”
कर्मचारी र पदाधिकारी बीचमै विवाद सिर्जना हुने स्थिति देखिएपछि खानेपानी संस्था प्रती उपभोक्ताले चिन्ता व्यक्त गर्न थालेका छन् । “जो मान्छे राम्रो भन्यो त्यहीँ भित्री रुपमा बदमास हुने रहेछन् ।” एकजना उपभोक्ताले भने, “राजनीतिक स्वार्थ र कमिसन स्वार्थमा पदाधिकारी लिप्त भएपछि अब संस्थाको नेतृत्वको विषयमा पुनः विचार गर्नुपर्ने स्थिति देखिन्छ ।”

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *