शेयेर गर्नुहोस
टीकापुर ०९ माघ /
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ ।
कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका चौधरीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका आधारमा भएको छानवीनबाट उनको उम्मेदवारी खारेज भएको हो । उनको उम्मेदवारी खारेजीको माग गर्दै बुधबार उजुरी परेको थियो ।
उजुरी परेपछि आयोगले उनलाई छलफलका लागि बिहीबार बोलाएको थियो । निर्वाचन अधिकृतको कार्यालयमा पुगेका चौधरीले राष्ट्रपतिबाट संविधान बमोजिम आंशिक नभई पूरा माफी पाएको बताएका थिए । उनले आफूलाई माफी दिने पत्रमा समेत १९ जनालाई माफी दिइएको बताएका छन् । पूर्ण माफी पाएका कारण आफू उम्मेदवार बन्न मिल्ने रेशमको दाबी थियो । तर, त्यो दाबिलाई निर्वाचन अधिकृतको कार्यालयले बदर गरिदिएको छ । उनको उम्मेदवारी खारेजमा निर्वाचन अधिकृतको कार्यालयले तिन पेज लामो बिज्ञाप्ति जारी गरेको छ ।
यद्यपि उनले आम माफी पाए पनि अदालतको फैसला बदर नभएको अवस्थामा रहेकाले उम्मेदवारी कायम गर्न नसकिएको निर्वाचन अधिकृत भारतीले बताएका छन् । उनका अनुसार मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) बमोजिम गम्भीर फौजदारी कसुरमा दोषी ठहर भई सजाय पाएको व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य हुने कानुनी व्यवस्था छ।
यसका साथै २०८० साल फागुन २४ गते निर्वाचन आयोगले चौधरीलाई राजनीतिक दलको सदस्यसमेत हुन अयोग्य ठहर गरेको निर्णयलाई समेत आधार मानी उनको उम्मेदवारी खारेज गरिएको भारतीले बताए । उम्मेदवारी खारेज भएसँगै कैलाली क्षेत्र नं. १ मा राजनीतिक चासो बढेको छ।
टिकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएको अदालतको फैसला बदर नभएकाले प्रचलित कानुनअनुसार उम्मेदवार बन्न अयोग्य बिज्ञाप्तिमा भनिएको छ । साथै गम्भीर फौजदारी कसुरमा दोषी ठहर भई सजाय पाएको व्यक्ति प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन नपाउने स्पष्ट कानुनी व्यवस्था भएको भनिएको छ । निर्वाचन आयोगले राजनीतिक दलको सदस्यसमेत हुन अयोग्य ठहर गरेको पूर्वनिर्णय कायम रहेकाले उम्मेदवारी मान्य नहुने आधार भएको भनिएको छ ।
‘हामीलाई अदालतबाट भएको कैद सजाय माफी दिइएको भनिएको छ । कैद सजाय माफी भएपछि पूरै सजाय माफी हो । आंशिक होइन । आंशिक माफीबाट आपराधिकता नमेटिने व्याख्या छ ।, रेशमले निर्वाचन अधिकृतको कार्यालय पुगेर स्पष्टीकरण दिने क्रममा भनेका थिए ।, ‘मेरो माफीको पत्रमा बाँकी कैद माफी भन्ने नभई फैसला बमोजिम लागेको कैद सजाय माफी भन्ने शब्द परेकाले आंशिक भनेको होइन ।” चौधरीले आफु विरुद्धको षड्यन्त्र सिद्धार्थ होटल होटलको बन्द कोठामा रचिएको आरोप लगाएका छन् ।










