शेयेर गर्नुहोस
टीकापुर २२ असार/
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले समाचार लेख्दा संवेदनशीलतालाई विशेष ध्यान दिन पत्रकारलाई आग्रह गरेका छन् ।
जानकी गाउँपालिकाको समन्वय तथा कैलाश मष्टा मिडिया प्रालिको आयोजनामा भएको स्थानीय तहमा संसदीय अभ्यास सम्बन्धि पत्रकार अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले पत्रकारले एकलौटी रुपमा संकलन गरेर सम्प्रेषण गर्ने समाचारले समाजको संवेदनशीलतालाई ध्यान नदिएको बताएका हुन । “समाचारलाई विश्वसनीय बनाउनका लागि दुबै पक्षको कुरालाई पत्रकारले समाचारमा समेट्नुपर्छ ।” उनले भने, “समाजमा घट्ने हरेक घटनाको संवेदनशीलतालाई ख्याल नगरेकै कारण समस्या माथी समस्या थपिने क्रम बढ्दै गएको छ ।”
जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने औल्याउँदै अध्यक्ष चौधरीले समाचारमा सत्यता महत्त्वपूर्ण हुने बताएका छन् । उनले नगर तथा गाउँ सभा सभाजस्तो हुनुपर्ने भन्दै अझै कतिपय स्थानीय तहले सभालाई आमसभा जस्तो तरिकाले गर्दै बताएका छन् । संसदीय अभ्यासमा पत्रकारले पनि नियमको पालना गर्दै निश्चित मर्यादा कायम राखेर समाचार संकलन, तस्वीर खिच्ने तथा भिडियो बनाउनुपर्ने बताए । “संसदीय अभ्यासको कमि आज पनि छ । हाम्रा सभा संसदीय मर्यादा अनुसार अझै चल्न सकेका छैनन् ।” उनले भने, “त्यसलाई ध्यान दिएर संसदीय अभ्यासलाई कार्यान्वयनमा लैजानुपर्छ ।”
कार्यक्रममा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका पत्रकारहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रमको सहप्राध्यापक मीनबहादुर शाही, पत्रकार एकिन्द्र तिमिल्सिना, मनमोहन स्वाँर लगायतले सहजीकरण गरेका थिए ।










