सरकार एक्लैले सबै गर्न सक्दैन : भाट

शेयेर गर्नुहोस


टीकापुर ०८ भदौ /
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री ओमविक्रम भाटले देश विकासका लागि सरकार एक्लैले मात्रै प्रयास गरेर सम्भव नहुने बताएका छन् ।
मालिका देवी कृपा अमृता फाउन्डेसन, टीकापुरको तेस्रो वार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री भाटले निजी क्षेत्र, सरकारी निकाय र गैरसरकारी क्षेत्रबीचको सहकार्य र सामूहिक प्रयासबाट मात्रै समृद्ध र विकसित देश निर्माण गर्न सकिने बताएका हुन । प्रदेश सरकारले टीकापुर क्षेत्रको विकास तथा सामाजिक क्षेत्रमा गर्नुपर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले फाउन्डेसन तथा स्थानीय क्षेत्रबाट प्रदेश सरकारसमक्ष प्रस्तुत गरिएका माग र ज्ञापनपत्रलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै सम्भव भएसम्म ती मागको कार्यान्वयनका लागि पहल गर्ने बताए ।
मन्त्री भाटले सामाजिक सेवाको क्षेत्रमा मालिका देवी कृपा अमृता फाउन्डेसनले गर्दै आएको कामको प्रशंसा गर्दै मन्त्री भाटले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा गैरसरकारी संस्थाले गर्ने यस्ता कामले राज्यको प्रयासलाई समेत सहयोग पुग्ने बताए ।
वार्षिकोत्सवको अवसरमा फाउन्डेसनले टीकापुर क्षेत्रका विभिन्न ११ वटा सामुदायिक विद्यालयका विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । प्रत्येक विद्यालयबाट पाँच जना विद्यार्थीका दरले छनोट गरिएका ५५ जना विद्यार्थीलाई प्रतिविद्यार्थी करिब पाँच हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ । कार्यक्रममा श्री एकहजार ८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्यजी महाराजले सेवा नै धर्म भएको बताउँदै सामाजिक सेवाको भावनाका साथ फाउन्डेसन अघि बढिरहेकोमा खुसी व्यक्त गर्दै गरेका छन् ।
कार्यक्रममा शिक्षक रघुराज उपाध्यायले पनि शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा मालिका ग्रुप होल्डिङका टीकाराम जैसीले स्वागत मन्तव्य राखेका थिए । वार्षिकोत्सव समारोहको अध्यक्षता धर्मराज शर्माले गरेका थिए भने कार्यक्रमको सञ्चालन धर्मराज जैसीले गरेका थिए ।
फाउन्डेसनले वार्षिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएको जनाइएको छ। फाउन्डेसनले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामार्फत समुदायमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *