शेयेर गर्नुहोस
टीकापुर २९ माघ /
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफुहरुका मागलाई सम्बोधन गर्नुपर्ने जेनजी अगुवाहरूले माग गरेका छन् ।
कैलाली निर्वाचन क्षेत्र नं. १ मा बसोबास गर्ने सचेत नागरिक, युवा, विद्यार्थी तथा सामाजिक अभियन्ताहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनताई केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र नभई दीर्घकालीन भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गर्दै आफ्ना मागहरूलाई एजेण्डा मार्फत सम्बोधन गर्न माग गरेका हुन । टीकापुरमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै क्षेत्र नं. १ को समग्र विकास, युवाको सुरक्षित भविष्य, गुणस्तरीय शिक्षा, दिगो रोजगारी, सुशासन तथा सम्बन्धित मागहरूलाई उम्मेदवारको निर्वाचन प्रतिबद्धता पत्रमा स्पष्ट रूपमा समावेश गर्न भनिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि बनेका उम्मेदवारले युवा सशक्तीकरण र रोजगारी तर्फ युवाहरूलाई आत्मनिर्भर र सक्षम बनाउन सीपमूलक तथा प्रविधिमैत्री तालिम, कृषि उद्यम, स्टार्टअप प्रवर्द्धन र स्वरोजगार कार्यक्रमहरू संघीय सरकारका विद्यमान योजनासँग प्रत्यक्ष जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने स्पष्ट नीति ल्याउन भनेका छन् । साथै स्थानीय आवश्यकता अनुसार नयाँ रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना अघि बढाउन माग गरेका छन् ।
बाढी, नदी कटान र जलवायु जोखिम न्यूनीकरणलाई मध्यनजर गर्दै कर्णाली क्षेत्रलाई केन्द्रमा राखी बाढी, नदी कटान तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि वैज्ञानिक अध्ययनमा आधारित, दीर्घकालीन र दिगो योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कुरामा जोड दिइएको छ भने जनउत्तरदायी प्रतिनिधित्वलाई आत्मसात गर्दै
जनप्रतिनिधिले आफ्ना निर्वाचन क्षेत्रका नागरिकप्रति उत्तरदायी हुने सुनिश्चित गर्न महिनामा कम्तीमा एकपटक आफ्नै निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ, जनसंवाद तथा सुझाव संकलन कार्यक्रम अनिवार्य रूपमा आयोजना गर्ने व्यवस्था उम्मेदवारसँग माग गरिएको छ ।
जारी गरिएको मागपत्रमा सूचना प्रविधि (आइटी) हबको विकासका लागिलागी उपयुक्त तालिम, आधुनिक पूर्वाधार, इन्टरनेट पहुँच र लगानीमैत्री नीति व्यवस्था गरी क्षेत्र नं. १ लाई क्रमशः सूचना प्रविधि (आइटी) हब का रूपमा विकास गर्न ठोस र चरणबद्ध पहल गर्दै युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने उल्लेख गरिएको छ । लागुऔषध नियन्त्रण र शिक्षा सुधारतर्फ लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कडा कानुनी व्यवस्था, प्रभावकारी कार्यान्वयन र पुनर्स्थापना कार्यक्रमका साथै विद्यार्थीहरूलाई सिर्जनशील, नवप्रवर्तनशील र सकारात्मक क्रियाकलापतर्फ आकर्षित गर्न शिक्षा प्रणालीमा गुणात्मक सुधार गर्दै व्यवहारिक, जीवनोपयोगी र सीपमूलक शिक्षामा जोड दिनुपर्ने माग युवाहरूले राखेका छन् ।
टीकापुरलाई शैक्षिक नगरीका रूपमा पुनःस्थापना गर्नका लागि उच्च शिक्षालय, प्राविधिक शिक्षा संस्था, अनुसन्धान केन्द्र तथा आवश्यक शैक्षिक पूर्वाधारको विस्तार गरी टीकापुरलाई पुनः एक शैक्षिक नगरीका रूपमा स्थापित गर्न विशेष कार्यक्रम र बजेट व्यवस्था गर्नुका साथै विज्ञान र अनुसन्धान प्रवर्द्धनका लागि विद्यार्थीहरूलाई विज्ञान र अनुसन्धानप्रति आकर्षित गर्न नियमित विज्ञान मेला, अनुसन्धान परियोजना, आधुनिक प्रयोगशाला, छात्रवृत्ति तथा मार्गदर्शन कार्यक्रम सञ्चालन गर्दै दीर्घकालीन रूपमा सयौँ सक्षम वैज्ञानिक उत्पादन गर्ने दृष्टिकोणका साथ युवा वैज्ञानिकहरूलाई विशेष प्रोत्साहन र अवसर दिनुपर्ने उनीहरूको माग छ ।
उम्मेदवारसँग स्थानीय स्रोत र उत्पादनसँग बजारको जोड दिँदै
स्थानीय स्रोत साधन र उत्पादनलाई मूल्य शृङ्खलासँग जोड्ने स्पष्ट रणनीति तयार गरी कृषि, उद्योग र उद्यम विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्दै स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र बजार पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।
युवाहरुले देशमा व्याप्त भ्रष्टाचार र अनियमितताको रोकथामका लागि देश तथा स्थानीय तहमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि स्पष्ट, कडा र कार्यान्वयनमुखी कार्ययोजना अघि बढाउनुपर्ने माग गरेका छन् ।










