शेयेर गर्नुहोस
टीकापुर २३ मंसिर /
टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले ऋणकै लागि सहकारी संस्थाको शेयर सदस्य बन्ने अवधारणाले सहकारी संस्थाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताएका छन् ।
नव निर्माण बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा वडा अध्यक्ष विकले सहकारी संस्थाको शेयर सदस्य ऋण लिनकै लागि बन्दा सहकारी सबल बन्न नसकेको बताएका हुन । “अधिकांश शेयर सदस्य ऋण लिनको लागि बनेका हुन्छन् । त्यसले सहकारी सबल बन्न सक्दैनन् ।” उनले भने, “सहकारीको मर्म बुझेर सदस्य बन्नुपर्छ ।” उनले एउटै व्यक्ति ऋणकै लागि तीनचार सहकारी संस्थाको सदस्य बन्ने गरेको भन्दै त्यसलाई नियम गरेर एउटा व्यक्तिलाई एउटै सहकारीको सदस्य बनाउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।
वडा अध्यक्ष विकले सहकारी समायोजनको प्रक्रियामा जानुपर्ने भन्दै त्यसका अभ्यास सफल सहकारीहरुले सुरु गर्नुपर्ने बताए । “यहाँ सहकारी धेरै छन् ।त्यसमा सिमित सहकारी मात्रै सफल भएको पाइन्छ ।” उनले भने, “सफल सहकारीले समायोजनको प्रक्रियालाई अगाडि बढाउन जरुरी छ । जसबाट सहकारी झन बलियो बन्न सक्छन् ।” सहकारी व्यावसायिक बन्न आवश्यक रहेको बताउँदै उनले सहकारीको लगानी उत्पादन तर्फ लगाउनु पर्ने बताएका छन् । त्यसमा नियमन निकायको तर्फबाट गर्नुपर्ने सहयोग आफुहरु गर्न तयार रहेको वडा अध्यक्ष विकले जानकारी दिए ।
कार्यक्रममा ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा नेपाल भारत बंगलादेश सांस्कृतिक समाजका अध्यक्ष हर्कबहादुर स्वाँरले सहकारी संस्थाको मेरुदण्ड शेयर सदस्यहरु हुने बताएका छन् । उनले एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा देशकै स्थिति अस्तव्यस्त भएको बताएका छन् । स्वाँरले सहकारीलाई मुनाफा कमाउने भन्दा पनि दिगो रुपमा टीकाउन तर्फ लाग्नुपर्ने बताएका छन् । संस्थाका विषयमा सकारात्मक कुरालाई नकारात्मक टीकाटिप्पणीमा लाग्दा पनि संस्था धराशायी बनेको बताएका छन् ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैशीले आर्थिक मन्दिको समयमा पनि संस्थाले सदस्यलाई झण्डै चार प्रतिशत लाभांश दिन सक्नु राम्रो कुरा भएको छ । उनले सहकारी संस्थामा भनेजस्तो संकटको अवस्थामा सिर्जना नभएको बताउँदै देशभरका सहकारी मध्ये एकाध सहकारीमा त्यस्तो समस्या देखिएको बताएका छन् । समाजसेवी कमल राज जोशीले केहि सहकारी व्यवसाय गर्न स्थापना भए तिनैको कारण सहकारी प्रती वितृष्णा उत्पन्न भएको बताएका छन् ।
सहकारी संस्थाले गत आर्थिक वर्षमा १४ लाख ३० हजार पाँच सय ८६ रुपैयाँ २० पैसा खुद नाफा कमाएको छ । तीन सय ८६ जना शेयर सदस्य रहेको सहकारी संस्थामा एक करोड ३९ लाख ६३ हजार एक सय रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा सहकारी संस्थाले एक करोड ८१ लाख ६७ हजार ९ सय ९५ रुपैयाँ निक्षेप संकलन गरेको छ भने सहकारी संस्थाले गत आर्थिक वर्षमा तीन करोड ७६ लाख ४२ हजार ७ सय ७५ रुपैयाँ ऋण लगानी गरेको सहकारीका व्यवस्थापक कमलेश जि बोहराको प्रतिवेदनमा उल्लेख छ । एक करोड ४५ लाख ५३ हजार ९ सय ७ रुपैयाँ ६२ पैसा बैंक मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ । भने संस्थाको सम्पत्ति पाँच करोड २७ लाख ८२ हजार पाँच सय ४७ रुपैयाँ २५ पैसा रहेको उल्लेख छ ।
सहकारी संस्थाका अध्यक्ष भगवती दास चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष झनकराज ओझाले गरेका थिए । कार्यक्रमको सञ्चालन सचीव बाल बहादुर बोहराले गरेका थिए । सहकारी संस्थाले बजार प्रतिनिधिहरुलाई सहानुभूति पुरस्कार प्रदान गरेको थियो । त्यसैगरी सहकारीले असल बचतकर्ताको रुपमा भरथरी चौधरी, असल ऋणी विना धितोमा अशोक चौधरी र धितोमा रामबहादुर शाहीलाई पुरस्कृत गरेको छ ।