शेयेर गर्नुहोस
टीकापुर २० फागुन/
टीकापुर नगरपालिका वडा नं.१ को आयोजनामा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई व्यवस्थित गर्न अभिमुखिकरण तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
वडा अध्यक्ष मोहन विकको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले जेष्ठ नागरिकहरूलाई सबैले सम्मान गर्नुपर्ने बताएका छन् । “जेष्ठ नागरिक हाम्रा मार्गदर्शन हुन । उहाँहरुबाट हामीले धेरै कुराको ज्ञान लिनुपर्छ ।” नगर प्रमुख थारुले भने, “जेष्ठ नागरिकहरूको बुद्धि विवेकसँग जोडिएर जेष्ठ नागरिक सामुदायिक मिलन केन्द्र तयार हुँदैछ । जहाँ आफ्ना अनुभव आदानप्रदान हुन्छन् । ती अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्छन् ।”
उनले अहिलेको वर्तमान अवस्थामा छोराछोरीले आमाबुबासँग पैसाको तुलना गर्ने थालेको बताए । ” त्यो पैसाको माया क्षणिक आवश्यकता मात्रै पूरा हुनसक्छ । जसबाट क्षणिक आवश्यकता पूरा भएपनि पैसालाई जीवन्त राख्न सकिँदैन ।” नगर प्रमुख थारु भन्छन्, “जेष्ठ नागरिकहरुको लागि आत्मसम्मानका लागि नगरपालिका सदैव सकारात्मक रहेको छ । जेष्ठ नागरिकहरुलाई नगरपालिकाले आफ्नो अभिभावकको रुपमा लिएको छ र लिइरहनेछ ।”
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले जेष्ठ नागरिक घरको मात्रै नभई समाजकै सम्मानको पात्र रहेको बताए । “उहाँहरुसँग अनुभव र ज्ञानको खानी हुन्छ । त्यो पुरानो अनुभवलाई नयाँ पुस्ताले अंगाल्न सक्यो भने त्यो पुस्तौपुस्तासम्म हस्तान्तरण हुँदै जान्छ ।” उनले भने, “जेष्ठ नागरिक दुख सुखको खानी पनि हो । जेष्ठ नागरिकहरुबाट अभिभावकमा पुरानो संस्कार र अनुभव आदानप्रदान हुँदै जान्छ ।” उनले सरकारले गरेको सहयोगले जेष्ठ नागरिकहरूका सबै आवश्यकता पूरा हुन नसक्ने बताउँदै यस्ता कार्यक्रमले जेष्ठ नागरिकहरूलाई सम्मान मात्रै हुने बताए । ” हामीले सबै जेष्ठ नागरिकहरू एउटै ठाउँमा राखेर उहाँ प्रतिको इज्जत गर्न खोजेको हो । सबैभन्दा चाहिने सम्मान र इज्जत हो ।” प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने ।
वडा अध्यक्ष मोहन विकले जेष्ठ नागरिकहरूलाई सम्मान गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । उनले सिमित स्रोतसाधनले सोचेजस्तो उपहार दिन नसकेको बताउँदै युवा अवस्थामा घामपानीबाट छेक्न अभिभावकले देखाएको मायालाई आज समयको मागअनुसार छाता र सहल सहयोग गरेर सुखदुःख साटासाट गर्न माध्यम कार्यक्रम भएको बताएका छन् । “वडामा दुई हजारलाई एकैपटक सम्मान गर्न सकिँदैन । बर्सेनि समयानुकूल सबै जेष्ठ नागरिकहरूलाई सम्मान गर्नेछौं ।” वडा अध्यक्ष विकले भने, “यसवर्ष ७४ देखि ७५ वर्षका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको हो । आगामी दिनमा पनि यसलाई वडाले निरन्तरता दिँदै जानेछ ।”
सामाजिक सुरक्षा भत्तामा अझै समस्या हुँदै आएको भन्दै वडा अध्यक्ष विकले त्यसलाई सहजीकरण आवश्यक रहेको बताएका छन् । “जेष्ठ नागरिकहरूले पाउने भत्ता पाइदैन कि भनेर आत्तिनु पर्दैन । खातामा आएको पैसा जहिले भुक्तानी लिए पनि हुन्छ ।” उनले भने, ” साथै आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने हुन्छ । त्यो बनाउन आग्रह गर्दछौं ।”
कार्यक्रममा वडा भित्रका एक सय ५० जना जेष्ठ नागरिकहरुलाई छाता र सहल वितरण गरिएको थियो । जेष्ठ नागरिकहरुको तर्फबाट बोल्दै मोहन शर्माले यस्ता कार्यक्रमहरुले जेष्ठ नागरिकहरूलाई हौसला प्रदान हुने बताएका छन् । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । पत्रकार दुर्गा देवकोटाले स्याहारको अभाव जेष्ठ नागरिकहरूमा देखिएको बताइन् ।अभिभावकहरु जिम्मेवार नहुँदा जेष्ठ नागरिकहरुमा एक्लोपनको समस्या देखिएको बताएकी छन्। “उहाँहरुमा कामको बोझ हुँदा सामाजिक सुरक्षा भत्ताको केही पुरुषहरूले गलत कार्यमा खर्च गरेको देखिएकोले त्यसका लागि राम्रो काममा खर्च गर्ने गरी अभिमुखिकरण कार्यक्रम आवश्यक छ ।” पत्रकार देवकोटाले भनिन् ।
वडा सदस्य गणेश घर्तिमगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचीव चक्रबहादुर रावलले गरेका थिए ।
वडा भित्र चालू आर्थिक वर्षमा एक हजार सात सय भन्दा बढी जेष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्तामा आबद्ध रहेका छन् ।