शेयेर गर्नुहोस
भजनी ०४ साउन/
वातावरण संरक्षण, धार्मिक आस्था प्रवर्द्धन तथा हरियाली विस्तार गर्ने उद्देश्यका साथ पाण्डव फाउन्डेसनले ‘एक मन्दिर, एक पारिजात अभियान’ अन्तर्गत बिरुवा वितरण गरेको छ ।
माँ शक्ति स्वरूपा आश्रममा आयोजित कार्यक्रममा पाण्डव फाउन्डेसनका अध्यक्ष टंक प्रसाद जोशीको अध्यक्षतामा बिरुवा वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथि भजनी नगरपालिकाका लेखा समिति संयोजक राजेन्द्र खनाल तथा विशिष्ट अतिथि स्वामी गजेन्द्र भण्डारी रहेका थिए । कार्यक्रमको सञ्चालन अनिता चौधरीले गरेको थियो भने स्वागत मन्तव्य कृष्णबहादुर बुढाले गरेका थिए ।
कार्यक्रममा माँ शक्ति स्वरूपा आश्रमसहित भजनी नगरपालिकाभित्र रहेका करिब ४४ जना मन्दिरका पुजारी तथा भक्तजनहरूको सहभागिता रहेको थियो । सो अवसरमा मन्दिर परिसरलाई हराभरा र आकर्षक बनाउने उद्देश्यले एक सय ५ वटा पारिजात, ८५ वटा दसहेरी आँप, ३० वटा बोटल ब्रस तथा १० वटा गुलमोहरका बिरुवा निःशुल्क वितरण गरिएको अध्यक्ष जोशीले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले धर्म, वातावरण संरक्षण र स्थानीय समृद्धिलाई सँगसँगै अघि बढाउन यस्ता अभियान आवश्यक रहेको बताएका छन् । मन्दिरहरूलाई हरियालीसँग जोड्दै धार्मिक स्थलको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षण तथा आर्थिक रूपमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा सहभागी पुजारीहरूलाई सम्मानका साथै खिरको भोजन समेत गराइएको थियो । पाण्डव फाउन्डेसनले आगामी दिनमा पनि धार्मिक, सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी यस्ता रचनात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ।










