पिडित बजगाईको सुन्ने क्षमतामा असर

शेयेर गर्नुहोस


टीकापुर ०३ साउन /
टीकापुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रयोगशाला प्राविधिक उमेशप्रसाद बजगाईंमाथि भएको कुटपिट घटनापछि गरिएको श्रवण परीक्षणमा उनको बायाँ कानको सुन्ने क्षमता मध्यमदेखि गम्भीर स्तरसम्म प्रभावित भएको चिकित्सकीय प्रतिवेदनले देखाएको छ ।
पिडित बजगाईको परिवारले पत्रकार सम्मेलन मार्फत श्रवण परीक्षण (अडियोलोजी) प्रतिवेदन अनुसार, दायाँ कानको श्रवणशक्ति सामान्य अवस्थामा रहेको छ भने बायाँ कानको श्रवणशक्ति मध्यमदेखि गम्भीर रूपमा घटेको जानकारी दिइएको हो । त्यस्तै, नाक, कान तथा घाँटी (ईएनटी) विशेषज्ञको प्रतिवेदनमा पीडितको कुटपिट भएको इतिहास उल्लेख गर्दै बायाँ कानमा मिश्रित प्रकारको श्रवण समस्या देखिएको जनाइएको छ । प्रतिवेदनमा उक्त समस्या चोटपटक वा कुटपिटपछि उत्पन्न भएको हुन सक्ने चिकित्सकीय अनुमानसमेत गरिएको छ।
प्रतिवेदनमा चक्कर आउने वा कान बज्ने जस्ता समस्या भने नरहेको उल्लेख गरिएको छ । विशेषज्ञ चिकित्सकले श्रवणशक्ति प्रभावित हुनुको कारण स्पष्ट रूपमा पत्ता लगाउन तथा आवश्यक उपचारका लागि थप परीक्षण गर्न सिफारिस गरेका छन् । सिफारिस गरिएका परीक्षणमा कानको पर्दा र मध्य कानको अवस्था जाँच गर्ने परीक्षण, कानको हड्डीको सिटी स्क्यान तथा श्रवण स्नायुको कार्यक्षमता परीक्षण रहेको परिवारले जनाएका छन् ।
साथै, विस्तृत परीक्षण र उपचारका लागि उच्चस्तरीय स्वास्थ्य संस्थामा रिफर गरिएको प्रतिवेदनमा उल्लेख छ । पीडित परिवारले कुटपिटका कारण आँखासँगै कानमा समेत गम्भीर असर परेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडितको उपचार र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
अस्पतालमा असार २३ गते अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारीले प्रयोगशाला बजगाईंमाथि गरेको कुटपिट गरेका थिए । त्यस घटनाको अस्पतालले छानवीन गरेर यसअघि नै प्रतिवेदन सार्वजनिक गरिसकेको छ । तिवारी धरौटीमा छुटिसकेका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *