एचआईभी संक्रमित माथिको भेदभाव कम गर्न अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर ०१ जेठ /
एचआईभी संक्रमितहरुले समाजमा भोग्नुपरेको लाञ्छना र भेदभाव कम गर्न सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।
सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयको आयोजनामा एचआईभी संक्रमितहरुलाई समाजमा हुनसक्ने लाञ्छना र भेदभाव कम गर्न सरोकारवालालाई अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम बिहिवार सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा प्रदेश स्वास्थ्य सामाग्री केन्द्रका निर्देशक झनक ढुंगानाले एचआईभी संक्रमित प्रती पहिलेका दिनहरु भन्दा अहिले जीवनयापन गर्न निकै सजिलो भैसकेको बताउँदै त्यसलाई दीर्घरोगको रुपमा बुझ्न जरुरी रहेको बताएका छन् । उनले समाजले त्यस्ता व्यक्तिलाई सहजरूपमा बुझ्न सके धेरै कुरा सहज हुने बताएका छन् ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले एचआईभी संक्रमितहरुले उच्च मनोबलका साथ जीवनयापन गर्न आग्रह गरेका छन् । नगार्जीले स्थानीय सरकारबाट प्रदान हुँदै आएका सेवा सुविधाको विषयमा कुनै कटौती नहुने जिकिर गरेका छन् । ए. एच. एफ. का प्रदेश संयोजक माधव राज पन्तले सुदुरपश्चिम प्रदेशमा तीन हजार ८ सय १२ जना एचआईभी संक्रमित रहेको बताएका छन् ।
जसमध्ये दुई हजार ४१ जना पुरुष, एक हजार ६ सय २५ जना महिला, एक सय १० जना बालबालिका र ३४ जना समलिङ्गी रहेको तथ्यांकले देखाएको छ । उनका अनुसार सबैभन्दा बढी संक्रमित कैलालीमा रहेको छन् भने सबैभन्दा कम संक्रमित दार्चुलामा रहेको तथ्यांकले देखाएको छ । कैलाली जिल्लामा एक हजार ८ सय दुई जना संक्रमित रहेका छन् भने दार्चुलामा ५१ जना संक्रमित रहेका छन् । कैलाली पछि सबैभन्दा बढी पाँच सय ६२ जना अछाममा संक्रमित रहेका छन् । कैलालीको गोदावरी नगरपालिकामा दुई सय ९१ जना संक्रमित रहेका छन् भने टीकापुर नगरपालिकामा एक सय ५० जना संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।
एचआईभी संक्रमितलाई सरकारले निशुल्क स्वास्थ्य बीमा, औषधि उपचार, पोषणको सामाग्री लगायतका सहयोग पाउँदै आएका छन् ।
कार्यक्रममा सहभागी एचआईभी संक्रमितहरुले सरकारबाट राम्रो सहयोग पाएको बताएका छन् । उनीहरूले आगामी दिनमा पनि सहयोगको निरन्तरताको अपेक्षा सहित संक्रमितलाई रोजगारीका अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा युएनडिपीका प्रदेश संयोजक प्रकाश लेखक, टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विक लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय कैलालीका एचआईभी फोकल पर्शन सुर्य कुँवरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *