ऐंठनलाई मदन पुरस्कार

शेयेर गर्नुहोस


टीकापुर १४ आइतबार /
मदन पुरस्कार गुठीद्धारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको मदन पुरस्कार यस वर्ष टीकापुरका विवेक ओझाको उपन्यास ऐंठनले पाएको छ ।
मदन पुरस्कार २०७९ ओझाको उपन्यास ऐँठनलाई प्रदान गर्ने आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले निणर्य गरेको हो । यो सँगै कैलालीको टीकापुर क्षेत्रबाट मदन पुरस्कार प्राप्त गर्ने ओझा दोश्रो साहित्यकार बनेका छन् । त्यस्तै कैलाली जिल्लाबाट ओझा तेस्रोमा छन् । यसअघि टीकापुर क्षेत्रबाट महेशविक्रम शाहले मदन पुरस्कार प्राप्त गरेका थिए भने धनगढीबाट रामलाल जोशीले मदन पुरस्कार प्राप्त गरेका छन् । सुदूरपश्चिमबाट मदन पुरस्कार पाउने ओझा चौथौ साहित्यकार हुन् । यसअघि लोकेन्द्रबहादुर चन्दले मदन पुरस्कार प्राप्त गरेका थिए ।
गुठीको निणर्यपछि उपन्यासकार ओझाले आफूले गरेको मेहनत र लगावको प्रतिफल प्राप्त भएकोमा खुशी लागेको बताएका छन् । ‘नेपालकै प्रतिष्ठित पुरस्कार पाउँदा एउटा लेखकलाई खुशीको सीमा नै हुँदैन, पाठकहरुको माया, सद्भाव र मेरो मेहनतले सफलता पाए जस्तो लागेको छब।” ओझाले भने ‘आगामी दिनमा अझ बढी जिम्मेवारी बोध गरेर नेपाली साहित्य लेखनमा प्रेरणा मिलेको छ । साथै अझै आफुलाई नेपाली साहित्यमा थप जिम्मेवार बनाएको छ ।”
यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निणर्य भएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार लाख रुपैयाँ छ । ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए । ‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो ।
उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए । २०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *