शेयेर गर्नुहोस
झलनाथ खनाल, टीकापुर १९ माघ/
नेपाल भारत सिमाना भारतको तिकुनिया हुँदै कैलालीको टीकापुर सत्ती भन्सार जोड्ने कैलाश मानसरोवर प्रवेशद्वार निर्माणको काम अलपत्र परेको छ ।
नेपाल र भारतको सिमानामा निर्माण हुन लागेको कैलाश मानसरोवर प्रवेशद्वार निर्माण सुरु भएको दुईवर्ष भैसक्दा पनि ठेकेदार कम्पनीको लापरबाही र बजेटको अभावका कारण अलपत्र परेको हो । कैलाश मानसरोवर तिर्थ यात्राको लागि पैदलमार्गबाट जाँदा टीकापुर नगरपालिका वडा नं. ७ मा रहेको पदमप्रकासेश्वर मन्दिरको दर्शन गरेर जारे र आउँदा पनि त्यहाँ दर्शन गरेर फर्कनु पर्ने प्रचलन रहेको भनाई रहेकोले पनि प्रवेशद्वारको नाम नै कैलाश मानसरोवर प्रवेशद्वार राखिएको बताइएको छ ।
सुदुरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा बाताबरण मन्त्रालयको ३२ लाख ५७ हजारको बजेटबाट प्रवेशद्वार निर्माणको काम सुरु भएपनि समय मै ठेकेदार कम्पनीले काम नगरेका कारण आयोजना अलपत्र परेको स्थानीयको गुनासो रहेको छ ।
प्रदेश सरकारको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले ६५ लाखको डिपिआर तयार गरेको भएपनि एम एम बि कन्स्ट्रक्सनलाई ३२ लाख ५७ हजारमा निर्माणको जिम्मा दिएको थियो । एम एम बि कन्स्ट्रक्सनले प्रवेशद्वारको जगको काम गरेर उठाएका पिल्लरहरु बाङ्गा भएको पाइएको छ । पिललरहरुमा प्रयोग भएको मसला पनि निकै कमजोर भएको पाइएको छ । पिल्लरहरु निकै कमसल र गुणस्तरीय नभएको बताउँदै नेपाली काँग्रेस कैलाली क्षेत्र नं.१ का सभापति प्रकाश शाहले तत्काल निर्माण कम्पनीलाई निर्माण भएको संरचना भत्काएर सुरुबाट काम गर्न लगाउनुपर्ने बताउनुभएको छ ।
“प्रवेशद्वार निर्माणमा निर्माण कम्पनीले चरम लापरबाही गरेको देखिएको छ । स्थानीयको पहुँच भन्दा बाहिर रहेकोले पनि ठेकेदारले त्यसको फाइदा उठाएको हुनुपर्छ ।” सभापति शाहले भन्नुभयो, “काम रोकेर सुरुबाट प्रवेशद्वारको निर्माणका लागि प्रदेश सरकार जिम्मेवार बन्नुपर्छ । होइन भने, निर्माण कम्पनीलाई कार्वाही गर्नुपर्छ । यस्तो टालटुले कामले आज कैयौं आयोजना अलपत्र परेका छन् ।”
सुदुरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले निकै मिहेनत र प्रयासका बाबजुद निर्माण हुन लागेको प्रवेशद्वारको काममा निर्माण कम्पनीले चरम लापरबाही गरेको बताउनुभयो। “यो प्रवेशद्वारको महत्त्व धेरै छ । भोलिका दिनमा भारतीय पर्यटकहरु कैलाश मानसरोवरसम्मको तिर्थयात्रामा पैदल जाँदा यहीँ प्रवेशद्वार भएर जाने छन् । यसको पर्यटकीय रुपले प्रचारप्रसार र विकासका लागि प्रवेशद्वार निर्माणका लागि पहल गरिएको थियो ।” डा. रावलले भन्नुभयो, “काम राम्रो भएको देखिएन ।यसलाई तत्काल दीर्घकालीन हुने गरि निर्माणका लागि पहल गर्ने छु । अहिलेकै अवस्थामा प्रवेशद्वारको निर्माणले निरन्तरता पाएको अवस्थामा त्यो निकै कमसल हुने देखिएको छ ।”
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका निमित्त प्रमुख भोजराज पाठकले प्रवेशद्वारको काम अलपत्र नपरेको दाबी गर्नुभएको छ । उहाँले चालू आर्थिक वर्षमा आयोजनाको लागि १० लाख बजेट मात्रै विनियोजन भएको कारण त्यहीँ बजेटले काम गर्न नसकिने भएपछि बजेटकोलागि समन्वय हुँदै आएको बताउनुभयो । “पहिलो वर्ष कोरोनाका कारण विनियोजन भएको बजेट काम हुन नसकेपछि फिर्ता गयो । गत आर्थिक वर्षमा पनि वर्षको अन्तिममा काम सुरु भएका कारण पूरा हुन सकेन । केही रकम फिर्ता गयो ।” कार्यान्वयन इकाईका निमित्त प्रमुख पाठकले भन्नुभयो, “हामीले प्रवेशद्वारको योजनालाई बहुबर्षिय आयोजनाको मोडलमा लिएका छौं । त्यसैले पनि आयोजना अलपत्र परेको होइन । बजेटको अभावले रोकिएको हो ।” उहाँले अहिले ठेक्का दिएको निर्माण कम्पनीलाई म्याद थप गरेर काम अगाडि बढाउन सक्ने अवस्था नरहेको बताउँदै त्यसका लागि पुनः नयाँ ठेक्का प्रक्रियामा जानुपर्ने बताउनुभएको छ ।
निमित्त प्रमुख पाठकले प्रवेशद्वार निर्माणमा निर्माण कम्पनीले लापरबाही गरेको भन्ने गुनासो आएपछि पुनः त्यसको अध्ययनका लागि प्राबिधिकलाई निर्देशन दिएको बताउनुभयो । “गुनासो आएपछि हामिले प्राबिधिक टोलिलाई प्रवेशद्वारको अध्ययनका लागि निर्देशन दिएका छौं । प्राबिधिकको प्रतिवेदनले काम कमसल देखिएको अवस्थामा निर्माण कम्पनीलाई पुनः निर्माण गर्न लगाउने वा कार्वाही गरेर धरौटी र बैंक ग्यारेन्टी जफत गर्ने भन्ने निर्णयमा पुग्छौं ।” निमित्त प्रमुख पाठकले भन्नुभयो, “गतवर्ष प्राविधिककै टोलिले गरेको अनुगमनका आधारमा करिब १५लाख रुपैयाँ भुक्तानी भएको छ । बाकी रकम भुक्तानी भएको छैन ।”