कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अलपत्र

शेयेर गर्नुहोस


झलनाथ खनाल, टीकापुर १४ जेठ /
भारत र नेपालको सिमानामा पर्ने कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला पारी निर्माण हुन लागेको कैलाश मानसरोवर प्रवेशद्वार दुई वर्षदेखि अलपत्र परेको छ । सुदुरपश्चिम प्रदेश सरकारले निर्माण सुरु गरेको प्रवेशद्वारको जगको काम सम्पन्न भएपनि त्यसबाहेकको काम हुन नसक्दा प्रवेशद्वार अलपत्र परेको हो ।
कोरोना संक्रमणको समयमा अर्थात आर्थिक वर्ष २०७६/०७७ मा प्रवेशद्वार निर्माणका लागि मन्त्रालयले ५० लाख बजेट विनियोजन गरेको थियो । करिब डेढ करोडको लागतमा निर्माण सम्पन्न हुनेगरी प्रवेशद्वारको डिपिआर निर्माण भइ प्रदेशको क्रमागत बजेटमा आयोजना समेटिएको भएपनि एक वर्षभन्दा अर्को वर्ष उक्त आयोजनाको लागि बजेट विनियोजन नै हुन सकेन । पहिलो वर्षमा पनि ४५ लाखको ठेक्का भएकोमा निर्माण कम्पनीले २२ प्रतिशत कममा काम गर्ने सम्झौता गरेको थियो ।
बजेट विनियोजन नभएपछि आयोजनाले निरन्तरता पाउने कुरै भएन । अहिले मन्त्रालयमा अधिकांश कर्मचारीहरु फेरिनुभएको छ । कर्मचारी फेरिएपछी नयाँलाई उक्त आयोजना छ भन्नेसम्म थाहा नभएको पाइएको छ । “म आएको एक वर्षभन्दा बढी समय भयो । यो समयसम्म त्यो प्रवेशद्वारको बारेमा मलाई कसैले भनेनन् । पहिला कार्यालय प्रमुख अर्कै हुनुहुन्थ्यो । त्यो बेला काम सुरु भएको होला ।” सुदुरपश्चिम पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका प्रमुख कालीराम चौधरी भन्नुहुन्छ, “यदि क्रमागत बजेट विनियोजन भएको भए पनि आयोजना छ भन्ने थाहा हुन्थ्यो । काम भएन, अरुले पनि आयोजनाको बारेमा जानकारी दिनुभएन ।”
उहाँले आउँदो वर्षका लागि कार्यक्रम छनोटको काम सुरु भएको बताउँदै वडाबाट सिफारिस ल्याएर बजेट माग गर्न सके प्रवेशद्वार निर्माणलाई निरन्तरता दिन सकिने बताउनुभएको छ । अहिले प्रदेश सरकारले नयाँ मापदण्ड अनुसार योजना छनोट गर्न सुरु गरेको छ । अहिले प्रदेशले योजना माग वडा तहबाटै गरेको छ । वडाको सिफारिस सहित माग भएका योजनालाई प्रदेशले आगामी आर्थिक वर्षमा प्राथमिकतामा राख्ने जनाएको छ ।
कैलाश मानसरोवर प्रवेशद्वारलाई मुख्य पर्यटन क्षेत्रसँग जोडेर तत्कालीन नेपाली काँग्रेसका संसदीय दलका नेता डा रणबहादुर रावलले बजेट विनियोजन गर्न लगाउनुभएको थियो । कैलाश मानसरोवर तिर्थ यात्रा जाने धार्मिक पर्यटकहरुलाई त्यहीँ प्रवेशद्वारमा अन्य धार्मिक स्थलको जानकारी समेत दिने व्यवस्था समेत गरिने योजना छ । त्यो बाटोबाट तिर्थयात्रा जाँदा मोहना त्रीविणी धाम, त्यस्तै कर्णाली त्रीवेणी धाम हुँदै मानसरोवरको यात्रा तय गर्न सकिने योजनाका साथ काम सुरु गरिएको डा रावले बताउनुभयो ।
उता प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईका इन्जिनियर नरेन्द्र खडायतले त्यसबेला कोरोनाका कारण पूरा काम गर्न नसकिएको बताउँदै त्यसपछिका वर्षमा बजेट नपरेपछि प्रवेशद्वार निर्माणको कामलाई निरन्तरता दिन नसकिएको बताउनुभएको छ । “पहिलोपटक बजेट पर्यो त्यसको पनि पूरा काम हुन सकेन । त्यसपछि बजेट नै नपरेपछि काम हुने कुरै भएन ।” इन्जिनियर खडायतले भन्नुभयो, “अहिले बजेटको लागि कुरा भएको छ । सम्भव त स्थानीय तहबाट समन्वय भए प्रवेशद्वार निर्माणको कामका लागि मन्त्रालयले बजेट विनियोजन गर्न सक्छ ।”
पहिलो चरणमा प्रवेशद्वार निर्माणको कामको जिम्मा एनएमडी कन्स्ट्रक्सनले पाएको थियो । ठेक्काको २२ प्रतिशत कममा काम गर्नेगरी निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले त्यो अनुसारको काम गर्न सकेन । त्यसपछि भएको कामको मुल्यांकन गरेर करिब १८ लाख रकम भुक्तानी भएको निर्माण कम्पनीका नरेन्द्र साउँद बताउनुहुँन्छ । “करिब ३५ लाखमा काम गर्ने गरि योजनाको सम्झौता भएको थियो । कोरोनाको संक्रमणको समयमा काम गर्नुपर्ने हुँदा लक्ष्यअनुसारको काम गर्न सकिएन ।” साउँद भन्नुहुन्छ, “त्यतिबेला भएको कामको मुल्यांकन गरेर रकम भुक्तानी भयो र सम्झौता तोडियो । त्यसबेला बाँकी कामको निरन्तरताका लागि त्यसको अर्को वर्ष बजेटलाई निरन्तरता दिने कुरा भएको थियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *