शेयेर गर्नुहोस
टीकापुर १६ जेठ/
जिल्ला क्रिकेट संघको आयोजनामा भएको कैलाली प्रिमियर लिग अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको उपविजेता टीकापुर नगरपालिकाका खेलाडीलाई नगरपालिकाले सम्मान गरेको छ ।
जेठ ७ गतेदेखि धनगढीको फाप्ला मैदान र लम्कीको व्यवस्थित नगर खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा टीकापुर नगरपालिका उपविजेता बनेको थियो । धनगढीमा भएको फाइनल खेलमा टीकापुर नगरपालिकालाई ५ विकेटले पराजित गर्दै गोदावरी नगरपालिकाले उपाधी जितेको थियो । छोटो अवधिमा नगरपालिकाको प्रतिनिधित्व गर्दै उपविजेता बनेका खेलाडीलाई टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले कार्यालयमा स्वागत सम्मान गरेका हुन् ।
उपप्रमुख शाहले खेलाडीलाई बधाई दिँदै सम्पुर्ण खेल क्षेत्रको विकास र विस्तारका लागि सम्बन्धित निकायसँग छलफल गरेर आगामी योजना बनाइरहेको बताएका छन् ।
‘क्रिकेट लगायतका सम्पूणर् खेल क्षेत्रको विकासका लागि सरोकारवालासँग छलफल गरेर हामी नयाँ योजना बनाउछौँ ।” नगर उपप्रमुख शाहले भने ‘आगामी दिनमा प्रथम हुने गरी अभ्यास गर्न र अभ्यासका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको छ ।’
११ वटा नगरपालिका सहभागी रहेको प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै टीकापुर उप विजेता बन्न सफल भएको टीकापुर नगरपालिकाका व्यवस्थापक अभिषेक शाहले बताए । प्रतियोगिताको फाइनलमा टीकापुर नगरपालिकाले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन मात्र जोडेको थियो । टीकापुर नगरपालिकाका लागि यादव साउँदले २८ बलमा सर्वाधिक २१ रन बनाउँदा रक्षित बम ३२ बलमा १३ रन तथा सञ्जय रावलले ११ बलमा १० रन बनाए । अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । बलिङतर्फ गोदावरी नगरपालिकाका लागि सुशील साउँद र सन्तोष कार्कीले समान ३/३ विकेट लिँदा फिर्दोष अन्सारीले २ विकेट लिए । ८७ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गोदावरी नगरपालिकाले निर्धारित २० ओभरको खेलमा १५.१ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो ।