भलमन्सा र चिराकीसँग अन्तरक्रिया

शेयेर गर्नुहोस


टीकापुर १८ जेठ /
भलमन्सा र चिराकीहरुलाई सार्वजनिक सेवा प्रवाह र सामाजिक मेलमिलाप सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
सिर्जनशील युवा समाज नेपाल टीकापुरको आयोजना तथा भजनी नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सिर्जनशील युवा समाज नेपालका कार्यक्रम संयोजक राजेन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष विमादेवी कामीले भलमन्सा र चिराकी समाजको महत्त्वपूर्ण ब्याक्ती भएको बताएकी छन् । उनले स्थानीय नागरिकहरु भलमन्साको पुर्ण विश्वास हुने भन्दै नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा जोड्न भुमिका खेल्नुपर्ने बताएकी छन् ।
उनले समाजमा हुने आपराधिक घटना न्यूनीकरणमा समेत भलमन्सा र चिराकीको भुमिका महत्त्वपूर्ण हुने भन्दै समुदायमा व्याप्त बालविवाह रोक्नका लागि लाग्नुपर्ने बताइन् । कार्यक्रममा वडा सचिव जनक प्रसाद भण्डारीले वडा कार्यालयले दिने सेवा प्रवाहमा भलमन्सा, चिराकीहरुसँग सुझाव मागेका थिए । “हामी चाहान्छौँ की सेवाग्राहीलाई दिने सेवामा कुनै समस्या नहोस् भनेर तर मानव हौं कतै त्रुटि हुन पनि सक्छ ।” वडा सचीव भण्डारीले भने, “राम्रोलाई राम्रो र नराम्रोलाई सुधारका लागि सुझाव आए त्यसैअनुसार नागरिकहरुको सेवा प्रवाहमा वडाले काम गर्न सक्छ ।”
सामाजिक मेलमिलापका घटनामा पनि भलमन्साहरु प्रति स्थानीयको विश्वास बढी नै भएको भन्दै गाउँघरमा मिलाएर समाधान हुन नसक्ने घटनालाई नगरपालिकाको न्याय समिती र सम्बन्धित निकायमा पुर्याउन कार्यपालिका सदस्य मनदेवी चौधरीले बताएकी छन् । उनले सामान्य विवादहरु गाउँमै समाधान गरे पनि पछिसम्म प्रभाव पार्न सक्ने कानुनले बर्जित गरेका विषयमा सम्बन्धित निकायमा समन्वयका लागि स्थानीयलाई सहजीकरणको काम भलमन्सा र चिराकीले गर्नुपर्ने बताइन् ।
कार्यपालिका सदस्य चौधरीले चिराकीहरुलाई नगरपालिकाले सुविधाको लागि साइकलको व्यवस्थापन गर्दै आएको बताउँदै भलमन्साहरुका लागि मोबाइल रिचार्जसम्मको व्यवस्था गरेको बताएकी छन् । “केही कुराहरू हामीले सहज रुपमा बोलेको जस्तो कार्यान्वयन गर्न सकिँदैन । त्यसैले समस्या आउँछ ।” उनले भनिन्, “भलमन्सालाई र चिराकीलाई केही सहयोग गर्न सकिन्छ की भनेर कार्यपालिकाले कार्यविधि निर्माण गर्नेबारेमा छ्लफल भैरहेको छ ।
वडा नं. १ भित्रका करिब २४ जना भलमन्सा र चिराकीको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सिर्जनशील युवा समाज नेपालका अध्यक्ष झलनाथ खनालले गरेका थिए । कार्यक्रममा वडा सदस्य सीताराम चौधरी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत संस्थाका सदस्य चन्द्रकान्त अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *