शेयेर गर्नुहोस
टीकापुर २२ जेठ /
जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम गाउँपालिकाको १८ औं गाउँ सभाबाट स्वीकृत भएको छ ।
गाउँपालिकाको १८ औं गाउँ सभामा अध्यक्ष गणेश चौधरीले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सर्वसम्मत स्वीकृत भएको हो । अध्यक्ष चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक विकास तर्फ शिक्षा, युवा तथा खेलकुदमा आठ बुदामा प्राथामिकिकरण गरिएको छ । बिद्यालय उमेर समुहका सबै बालबालिकाको बिद्यालयमा पहुँच सुनिश्चित गर्दै विद्यार्थी भर्ना, सिकाइ उपलब्धि, टिकाउ दर अभिवृद्धि गर्ने नीति लिएको छ । त्यसैगरी शिक्षा तर्फ नै कक्षा ८ र कक्षा १० लक्षित शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । बिधालयमा सिक्दै कमाउँदै, बिधालय समायोजन, दरबन्दी मिलान जस्ता कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्र तर्फ ९ वटा बुदामा प्राथामिकिकरण गरिएको छ । जसअनुसार गाउँपालिकाले २०८४/०८५ को माघ भित्र पोषण मैत्री स्थानीय तह घोषणा गरिने भनिएको छ । गाउँपालिकामा १५ शय्याको अस्पताल स्थापनामा पहल गरिने भनिएको छ । उपाध्यक्ष पोषण कार्यक्रम, गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गराउन जनचेतना कार्यक्रम सञ्चालन गर्ने, पुर्ण खोप कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाले प्रसुती हुने महिलालाई लम्की र टीकापुरसम्म निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिएको छ ।
महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण तर्फ गाउँपालिकाले निति तथा कार्यक्रममा ९ बुदामा प्राथामिकिकरण गरेको छ । जसअनुसार बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने भनेको छ । उता अभिभावक विहिन, अनाथ र अपाङ्गता भएका बालबालिकाहरुका लागि उचित संरक्षणको व्यवस्था गर्ने, लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपचारमा पहुँच वृद्धि गर्न जेष्ठ नागरिकहरूको घरदैलो स्वास्थ्य परिक्षण गरिने नीति गाउँपालिकाले लिएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता अन्तर्गत एक घर एक धारा तथा स्वच्छ खानेपानीको अवधारणालाई अघि सारेको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण अन्तर्गत विपन्न तथा असहाय परिवारको कुनै सदस्यको मृत्यु हुँदा सामाजिक सहायता प्रवर्द्धन गर्न घरभेट कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले नीतिमा समावेश गरेको छ । आउने वर्षका लागि गाउँपालिकाले आर्थिक विकास तर्फको कृषिमा कृषि बाली विमालाई निरन्तरता दिने जनाएको छ । किसानहरूले उत्पादन गरेको कृषि उपज वस्तुलाई बजारीकरणमा सहयोग पुर्याउन कृषि एम्बुलेन्स यथाशीघ्र सञ्चालनमा ल्याउने जनाएको छ । प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
किसानहरूको वर्गीकरण गरेर परिचयपत्र उपलब्ध गराउने, बाली विविधीकरण प्रदर्शन कार्यक्रमका साथै यान्त्रिकरणमा जोड दिने नीति गाउँपालिकाले लिएको छ । पशु सेवातर्फ निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रम समावेश गरिएका छन् । सहकारी, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनमा १२ वटा बुदामा वर्गीकरण गरेर काम गर्ने गाउँपालिकाले जनाएको छ । वन, वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा प्रभावकारी काम गर्ने भन्दै ११ बुदामा कार्यक्रमको वर्गीकरण गरिएको छ ।
पुर्वाधार विकास तर्फ गाउँपालिकाको प्रशासनिक भवनलाई प्राथमिकतामा राखेको छ । त्यस्तै क्रमागत र अधुरा योजनालाई समयमै सम्पन्न गर्न जोड दिने नीति तथा कार्यक्रममा बताइएको छ । गाउँपालिकाले परम्परागत शैलीको घर निर्माण गर्ने घरधनीलाई घर नक्सा पासमा कर छुट दिने जनाएको छ । गाउँपालिकाले सुशासन तथा संस्थागत विकासलाई १३ वटा बुदामा प्राथामिकिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा गाउँसभा सदस्यले आआफ्नो धारणा राखेका थिए । आफ्नो धारणा राख्दै गाउँसभा सदस्य कमल महतोले वडा नं. ५,६ र ७ को प्रशासनिक भवन अझै बन्न नसकेको भन्दै आउने वर्षको योजना तथा बजेटमा सुनिश्चित गरिनुपर्ने जनाएका छन् । अर्का गाउँसभा सदस्य करार र ज्यालादारी कर्मचारीको म्याद ६/६ महिनामा हेरफेर नगरी एक वर्षमा एकैपटक गर्दा राम्रो हुने बताए । सुरेश कुमार चौधरीले गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा समावेश भएका कुराहरू कार्यान्वयनमा अझै त्रुटि हुँदै आएको बताउँदै आगामी दिनमा त्यस्तो नहुने विश्वास व्यक्त गरे । गाउँसभाको दोस्रो बैठक असार ५ गते बस्ने गरी स्थगित भएको छ ।










