शेयेर गर्नुहोस
टीकापुर ११ जेठ /
जानकी गाउँपालिकाले भुमिहिन सुकुम्बासीको जग्गाको नाप नक्साको काम सुरु गरेको छ ।
भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं. ५ को जवलपुरबाट नाप नक्साको काम सुरु गरेको हो । जग्गाको नाप नक्साको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष गणेश चौधरीले भुमिहिनलाई लालपुर्जा दिने गरी जग्गाको नाप नक्साको काम सुरु गरिएको बताएका छन् ।
उनले भूमिहिनको जग्गाधनी पुर्जा प्राप्तिको अपेक्षा र जनप्रतिनिधिको प्रतिबद्धतालाई पूरा गर्न गाउँपालिकाबाट पूर्ण सहयाेग रहेको बताउँदै सुकुम्बासीहरुले यथाशीघ्र जग्गाको लालपुर्जा पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको बताएका छन् । “सबै काम हाम्रो हातमा पनि छैन । गाउँपालिकाले गर्नुपर्ने सबै प्रक्रिया पुरा गरेर आफ्नो काम सम्पन्न गरिसकेको छ ।” उनले भने, “बाँकी जिल्लाले गर्नुपर्ने र अन्य निकायबाट हुने काम जति छिटो भयो त्यति नै छिटो सुकुम्बासीले लालपुर्जा पाउने वातावरण बन्छ ।”
गाउँपालिकामा भूमिहीन दलित चार सय ९०,भूमिहीन सुकुम्बासी एक हजार चार सय २९ र अव्यवस्थित बसोबासी तीन हजार दुई सय ५७ गरी पाँच हजार एक सय ७६ जना रहेका छन् । जानकी गाउँपालिकाको आयोजनामा सुरु भएको जग्गा नाप नक्सा उदघाटन कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष यज्ञ प्रसाद उपाध्यायले जतिसक्दो चाडो सुकुम्बासीलाई जग्गा दिनेगरी आयोगले कामहरू अगाडि बढाएको बताएका छन् । उनले अर्को वर्षसम्म जिल्ला भरिका सबै पालिकामा रहेका सुकुम्बासीलाई लालपुर्जा वितरण गरिसक्ने बताएका छन् ।
कार्यक्रम सदस्य सचिव जनक राज भट्ट , सदस्य दान बहादुर विक, गाउँपालिका उपाध्यक्ष लालमती कठरिया, वडा अध्यक्ष भीम बहादुर चौधरी, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकामा रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई समयमा जग्गा नापनक्सा गरी यसै आर्थिक वर्षको मसान्त देखि जग्गाधनी पूर्जा वितरणको थालनी हुने प्रतिबद्धता गरिएको छ ।










