जनकल्याणलाई उत्कृष्ट सहकारी पुरस्कार

शेयेर गर्नुहोस


टीकापुर २१ चैत /
टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट संस्था पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
राष्ट्रिय सहकारी महासंघले नेपालका उत्कृष्ट कार्य गर्ने सहकारी संघ/संस्था तथा अभियानको प्रवर्द्धनमा योगदान पुर्‍याउने अभियन्ता लगायतका विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको हो । महासंघले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित विशेष समारोहमा पुरस्कृत हुने व्यक्तित्व तथा संघ/संस्थाको नाम सार्वजनिक गरेको हो । जस अन्तरगत सुदुरपश्चिम प्रदेशबाट जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. टीकापुर पुरस्कृत भएको हो ।
त्यस्तै अन्य प्रदेशहरुमा कोशी प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लि. झापा, मधेश प्रदेशबाट साना किसान कृषि सहकारी संस्था लि. सर्लाही, बागमती प्रदेशबाट ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रे, गण्डकी प्रदेशबाट मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लि. पर्वत, लुम्बिनी प्रदेशबाट तिलोत्तमा बहुमुखी सहकारी संस्था लि. रुपन्देही, कर्णाली प्रदेशबाट त्रिपुरा महिला बहुउद्देश्यीय सहकारी संस्था लि. डोल्पा पुरस्कृत भएका छन् ।
राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट बाग्लुङका शान्तराज शर्मा पुरस्कृत भएका छन् । उनी लामो समयसम्म महासंघको व्यवस्थापकीय नेतृत्वमा रहेका थिए । त्यसैगरी सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी अखबार अनलाइनका सम्पादक खिलानाथ दाहाल पुरस्कृत घोषित भएका छन् ।। महासंघका संचालक डिवी बस्नेतको संयोजकत्वमा संचालकद्वय टिका बुढाथोकी र राजेन्द्र पौडेल तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका शाखा अधिकृत खेमनारायण पौडेल र सहकारी विकास बोर्डका उपनिर्देशक टाइन्द्र अधिकारी रहेको उपसमितिले गरेको सिफारिसको आधारमा महासंघको २०५ औं बोर्ड बैठकले पुरस्कृत संघ/संस्था तथा व्यक्तित्वहरुको छनोट गरेको थियो ।
उत्कृष्ट सहकारी संघ पुरस्कारबाट जिल्ला सहकारी संघ लि. काभ्रे पुरस्कृत हुने भएको छ । पुरस्कृत घोषणा गरिएका संघ/संस्था तथा व्यक्तिलाई अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *